
वासिंटन, पुस १ । अमेरिकी राष्ट्रपति कार्यालय ‘ह्वाइट हाउस’ ले अमेरिकी राष्ट्रपति निर्वाचनको ह्याकिङ अप्रेसनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन प्रत्यक्ष रुपमा सामेल रहेको आरोप लगाएको छ ।
राष्ट्रपति बाराक ओबामाका सल्लाहकार बेन रोड्सका अनुसार रुसी सरकारको काम कारवाहीमा त्यहाँका राष्ट्रपति पुटिनको पकड बलियो भएकाले पनि अमेरिकी निर्वाचनको ह्याकिङबारे पुटिनलाई राम्रो जानकारी रहेको थियो ।
ह्वाइट हाउसका प्रेस सचिव जोश अर्नेस्टले पनि ह्याकिङ मामलामा पुटिन संलग्न रहेको आरोप लगाए ।
अमेरिकी राष्ट्रपति निर्वाचनका बीच रुसले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई जिताउन तथा निर्वाचनलाई प्रभावित तुल्याउन ह्याकरको सहारा लिएको चर्चा चल्दै आएको थियो ।
रोड्सले भने, ‘हामीलाई थाहा छ, रुसमा कसरी कामकाज हुन्छ र त्यस्ता कामकारवाहीमा पुटिनको पकड कति मजबुत हुन्छ ।’
रुसले भने यस्तो आरोप अस्वीकार गर्दै आएको छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पले पनि यस्तो ह्याकिङको आरोप अस्वीकार गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्