
चितवन, पुस १ । नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ ।
यही पुस ७ गतेदेखि सडक स्तरोन्नति र मर्मतका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन रोकेर काम गरिने नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए ।
सडक आयोजनाले दैनिक ८ घण्टा सवारी आवागमन रोक्न माग गरे पनि यात्रुको समस्यालाई ध्यानमा राखेर चार घण्टामात्र सवारी साधन रोक्ने अनुमति पाएको यादवले बताए ।
दशैं अघि पनि यो सडक दैनिक चार घण्टा बन्द गरिँदै आएको थियो । पुस ७ गतेबाट दुई घण्टा पहाड फोर्ने र दुई घण्टा सफा गर्ने काम हुने बताइएको छ ।
सडक निर्माणका क्रममा काठमाडौंबाट आउने सवारी साधनहरु मुग्लिनमा रोकिने छन् भने नारायणगढतर्फ दासढुंगामा रोकिने छन् ।
आयोजनाले त्यस अवधिमा सकभर वैकल्पिक बाटो प्रयोग गर्न सर्वसाधारणलाई अपील गरेको छ ।
प्रतिक्रिया दिनुहोस्