
काठमाडौं, पुस १ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले अङ्गीकृत नागरिकलाई राष्ट्रपति बनाउने मधेसी मोर्चाको माग नभएको बताएका छन् ।
पार्टीको राष्ट्रिय प्रशिक्षण कार्यक्रमको शुक्रबार राजधानीमा उद्घाटन गर्दै भण्डारीले व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई ओझेलमा पार्न नागरिकतालगायत विषयमा बखेडा झिकिएको आरोप लगाए ।
‘संविधान संशोधन नभई स्थानीय निर्वाचनको कुरा गर्नु संशोधनलाई ओझेलमा पार्ने षड्यन्त्र हो, यदि स्थानीय निकायको निर्वाचन गर्ने हो भने निर्दलीय आधारमा हुनुपर्छ,’ अध्यक्ष भण्डारीले भने ।
उनले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गराउन मोर्चा सहमत रहेको र त्यसका लागि प्रमुख प्रतिपक्षीसहितका सबै दलको छलफल र सहमति अपरिहार्य भएको उल्लेख गरे ।
फरक प्रसङ्गमा अध्यक्ष भण्डारीले पहिले आफैंले सहमति गरेको विषयलाई अहिले आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न नेकपा एमालेले राष्ट्रियताको बखेडा झिकेर सामाजिक विभाजन र विखण्डन गर्ने प्रयास गरेकाले त्यसप्रति आफ्नो पार्टी सचेत रहेको बताए ।
दुईदिने प्रशिक्षणमा राजनीतिक विश्लेषक एवम् प्राध्यापक कृष्ण हाछेथु, सिके लाल, दीपेन्द्र झालगायतले प्रशिक्षण दिने पार्टीका महासचिव केशव झाले जानकारी दिए । (रासस)
प्रतिक्रिया दिनुहोस्