सुरुमै प्रतिनिधिसभाको निर्वाचन सम्भव छैन : देउवा « Image Khabar


सुरुमै प्रतिनिधिसभाको निर्वाचन सम्भव छैन : देउवा


Imagekhabar
१ पुष २०७३, शुक्रबार १४:२९

                                                                                  फाइल फोटो
चितवन, पुस १ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुमै प्रतिनिधिसभाको निर्वाचन सम्भव नभएको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले शुक्रबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नेकपा एमालेले प्रस्ताव गरेझैं सुरुमै प्रतिनिधिसभाको निर्वाचन व्यावहारिक नभएको बताए ।

तीन दलकाबीचमा सुरुमा स्थानीय निकायको निर्वाचन गर्ने विषयमा सहमति भइसकेको भन्दै सभापति देउवाले क्रमशः प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बताए ।

मधेसवादी दलहरु संविधान संशोधन नभइ निर्वाचन गर्न हुन्न भनिरहेका छन् नि ? भन्ने प्रश्नको जवाफमा उनले संविधान संशोधन गर्न सत्तारुढ दलहरु तयार भएकाले जसले अवरोध गरेको छ उनीहरुलाई भन्न आग्रह गरे ।

संसदको अवरोध हटाएर संविधान संशोधन प्रस्ताव पारित गराइ निर्वाचनतिर जाने सत्तारुढ दलहरुको योजना रहेकामा विपक्षीका अवरोधका कारण बीचको बाटो खोजिएको उनको भनाइ थियो ।

वि.सं. २०७४ माघभित्र कुनैपनि हालतमा तीनओटै तहको निर्वाचन नभए मुलुकमा संवैधानिक संकट आउने हुँदा दलीय सहमति जुटाएर निर्वाचन प्रक्रियामा जानुपर्ने सभापति देउवाले बताए ।

संविधान संशोधन प्रस्ताव तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमतिअनुसार नै पेस गरिएको देउवाको भनाइ थियो ।

सत्तारुढ दलहरुले कुनैपनि कुरा लादेर नभएर सहमतिमा जान खोजेको भन्दै उनले सबै सकारात्मक भएमात्र संविधान कार्यान्वयन हुने र मुलुकले निकास पाउने बताए । रासस

प्रतिक्रिया दिनुहोस्