
चितवन, पुस २ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्ताव निर्वाचनकै लागि भएको स्पष्ट पारेका छन् । संविधान संशोधन विना निर्वाचन हुन नसक्ने भन्दै संविधान संशोधन अपरिहार्य रहेको बताए ।
प्रेस सेन्टर नेपाल चितवनले शनिबार भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री दाहालले सँसदमा दर्ता भएको संविधान संशोधनको प्रस्ताव अब टेबलमा जाने बताए ।
संविधान संशोधनको विरोध गर्नुको कुनै अर्थ नरहेको भन्दै सबै मिलेर संविधान कार्यान्वयन तर्फ लाग्नु पर्ने बताए ।
हाल संविधान संशोधनको प्रस्ताव अगाडि नबढाएसम्म निर्वाचन सम्भव नभएकाले यसको विकल्प नभएको बताए । उनले प्रदेश विभाजनको विषयमा पनि आवेगमा नआउन आग्रह गरे ।
संशोधनविरुद्ध तपाईकै नेताहरु विरोधमा छन् नी ? भन्ने पत्रकारहरुको प्रश्नमा प्रधानमन्त्री दाहालले भने–“अहिले केही नेताहरु भावुक भएर आन्दोलनमा लाग्नु भएको छ, पछि उहाँहरु पार्टीको रुलिङ मान्नु हुन्छ, अन्तिम निर्णय पार्टीकै हुन्छ ।”
यस्तै प्रधानमन्त्री दाहालले पुरानै संरचनामा सबै तहको निर्वाचनमा गर्ने विषयमा कुनै सहमती नभएको बताए । उनले काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले पुरानै संरचनामा जानुपर्छ भनेपनि आफूले भने नयाँ संरचनामा जानुपर्ने धारणा व्यक्त गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्