३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


मलेसियामाथि नेपालको संघर्षपूर्ण सान्त्वना जित


0
Shares

                                                                                फाइल फोटो  

काठमाडौं, पुस ३ । एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले सान्त्वना विजय हासिल गरेको छ ।

श्रीलंकामा जारी प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा आइतबार नेपालले मलेसियामाथि एक विकेटको संघर्षपूर्ण जित हासिल गर्दै प्रतियोगिता सकाएको हो ।

कोलम्बोमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४४ ओभर ४ बलमा सबै विकेट गुमाएर १५३ रन जोड्यो ।

कप्तान वीरनदीप सिंहले अविजित रहँदै ७५ रन जोडेको मलेसियाको इनिङलाई सस्तैमा समेट्नेक्रममा अदिल खानले २४ रन खर्चेर ३ विकेट लिए ।

त्यसैगरी, कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले २–२ तथा सुभांकर उराव र रोहितकुमार पौडेलले १–१ विकेट झारे ।

जवाफमा नेपालले ४४ ओभर ४ बलमै ९ विकेटको क्षतिमा विजय हासिल गर्‍यो ।

१४५ रन जोड्दा ९ विकेट गुमाइसकेको नेपालका लागि पवन सर्राफ र कप्तान सन्दीप लामिछानेको अविजित ९ रनको साझेदारीले सनसनीपूर्ण विजयी दिलाएको हो ।

सोक्रममा पवनले २९ तथा सन्दीपले ३ रन बनाए ।

यसअघि, अनिल शाहले ३२, अविनाश कर्णले २९, दीपेन्द्रले २२ तथा रोहितले १२ रन जोडे ।

सान्त्वना जितसँगै नेपालको श्रीलंका यात्रा सकिएको छ । समूहका खेलमा श्रीलंकासँग एक विकेटले तथा भारतसँग ६ विकेटले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।