Logo २३ आश्विन २०८३, शुक्रबार | Sat Oct 10 2026


भक्तपुरमा यौनशिक्षासँगै होली


0
Shares

भक्तपुर, चैत ६ । उपत्यकाको भक्तपुरमा भिन्नै प्रकारले होली पर्व मनाइएको छ ।

भक्तपुरमा दत्तात्रय मन्दिरसँगैको भैरव मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको योनी जुधाएर होली सुरु गर्ने परम्परा रहेको छ ।

हरेक वर्ष फागुन शुक्ल अष्टमीको दिनदेखि भक्तपुरमा फागु पर्व सुरू हुन्छ ।

अष्टमीको दिन मन्दिरमा राखिएको लिंगलाई नगर परिक्रमा गराइ पुनः मन्दिर राखिन्छ ।

काठबाट बनेको करिब तीन हात लामो र ३० इन्च मोटाइको काठलाई भीमसेनको लिंग र रातो कपडाबाट बनाइएको प्वाललाई द्रौपतीको योनीको सांकेतिकरूपमा पाटीमा झुन्ड्याइराखेको हुन्छ ।

यसरी समागम गराएपछि भक्तपुरमा होली पर्व सुरू भएको मानिन्छ र यसलाई स्थानीय भाषामा ‘चीर स्वायगु’ भनिन्छ ।

वीर्यको प्रतीककारुपमा लिंगको टुप्पोमा कपास झुन्ड्याइएको हुन्छ । कपास खसाल्न सके घरमा झगडा नहुने जनविश्वास रहेको छ ।

होलीको एक हप्ताअघिदेखि नै स्थानीय बासिन्दाहरू द्रौपदीको योनीमा भीमसेनको लिंग घचेटेर पारिवारिक सुख र दीर्घायुको कामना गर्दै फागु पर्व मनाउने गर्छन् ।

गुठीका सदस्यहरु ‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भीमसेनको लिंगदेखि मोह जाग्यो कि, भाग्नुपर्ने गरी हेर्न आएको होे कि’ भनेर भजन–कीर्तनसमेत गर्ने गर्दछन् ।

फागु पूर्णिमाको दिन युवाहरू आफूले मन पराएको केटीको आँगनमा गइ गीतमार्फत् प्रेम प्रस्ताव गर्ने र केटीले स्वीकार गरेमा अबिर गालामा दल्ने नभए टाढैबाट अबिर छर्केर फर्कने प्रचलनसमेत रहेको छ ।

पूर्णिमाको साँझ लिंग ब्रह्मायणी नदीमा धोएपछि भक्तपुरमा होलीको विधिवत् सम्पन्न गरिन्छ ।