
-हरि शर्मा, ईमेज
बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत पर्ने विभिन्न पुलको समयमै मर्मत र पुनर्निर्माण हुन नसक्दा केही भाँचिएका छन् । अन्य पुलको अवस्था पनि नाजुक छ । भाँचिएका पुलको मर्मत र पुनर्निर्माणमा ढिलाई हुँदा यात्रुहरु असुरक्षित यात्रा गर्न बाध्य छन् ।
प्राविधिकहरुका अनुसार ट्रस्ट ब्रिजहरुको आयु सामान्यतया ४० देखि ४५ वर्षको हुन्छ । नवलपरासीमा रहेका यी पुल ४० वर्षअघि नै निर्माण भएका हुन् ।
जसका कारण यहाँका अधिकांश पुलको अवस्था नाजुक बनेको हो । पछिल्लो पटक रजहर–प्रगतिनगरको बौलाहाखोलामाथिको पुल भाँचिएको छ भने डेढ वर्षअघि भाँचिएको गैंडाकोटस्थित जयश्री पुलको पुनर्निर्माणको काम अझै सकिएको छैन ।
डिभिजन सडक कार्यालय बुटवलअन्तरगतको शाखा कार्यालय बर्दघाटका सवइन्जिनियर पदमलाल अधिकारीले नवलपरासीको गैंडाकोटदेखि सुनवलसम्म साना ठूला गरी करिब ४० बढी पुल रहेको बताए ।
तीमध्ये १० वटा ठूला ट्रष्ट ब्रिज छन् । जुन पुल २०२८ सालमा महेन्द्रराजमार्ग सञ्चालन भएदेखि बनेको डिभिजन सडक कार्यालय, बर्दघाट शाखाका सवइन्जिनियर पदमलाल अधिकारी बताउँछन् ।
एक सय किलोमिटर लामो राजमार्गमा रहेका पुलको अवस्थाका बारेमा सडक विभागको अध्ययन गरिरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
अध्ययनपछि पुल मर्मत या पुनर्निर्माणका बारेमा टुंगो लाग्ने बताइएको छ । गत मंसिर २६ गते ट्रकको ठक्करबाट भाँचिएको बौलाहाखोला पुल मर्मत वा पुनर्निर्माण गर्ने भन्नेमा पनि अध्ययन भइरहेको छ ।
मर्मत गरेर सञ्चालनमा ल्याउन सके चार महिना लाग्ने र पुनर्निर्माण गर्नुपरे ६ महिना लाग्ने छ बताइएको छ । त्यसैगरी २०७३ साल साउन ११ गते ओभरलोडका कारण भाँचिएको जयश्री पुलको पुनर्निर्माण गर्न अझै तीन महिना लाग्ने डिभिजन सडक कार्यालयले जनाएको छ ।
राजमार्गमा निर्माण गरिएका अधिकांश पुलले सामान्यतया २० टनभन्दा बढी भार धान्न सक्दैनन् । तर, ३० देखि ३५ टनसम्म सामान बोकेका ढुवानीका साधन सञ्चालन हुने भएकाले पुलको आयु घट्दै गएको हो ।
राजमार्गका जोखिमपूर्ण स्थानमा बनाइएका यस्ता पुलको अवस्थामा तत्काल सुधार नगरे जुनसुकै बेला पनि ठूलो दुर्घटना नहोला भन्न सकिन्न ।
प्रतिक्रिया दिनुहोस्