केशर महल पुस्तकालयको रेट्रो फिटिङ गरिने, ‘डेढ वर्षमा पुरानै स्वरुपमा तयार’ (भिडियो रिपोर्ट) « Image Khabar


केशर महल पुस्तकालयको रेट्रो फिटिङ गरिने, ‘डेढ वर्षमा पुरानै स्वरुपमा तयार’ (भिडियो रिपोर्ट)


Imagekhabar
६ पुष २०७३, बुधबार १७:५६

यसै त जीर्ण भवन, त्यसमाथि भूकम्पको मार । भवन जुनसुकैबेला ढल्ने अवस्थामा भएपनि उपयुक्त विकल्प नहुँदा पुस्तकहरु त्यही जीर्ण भवनको कोठामै थुपारिएको छ ।

भूकम्प गएको डेढ वर्ष हुँदा पनि भवन मर्मत नगरिँदा ऐतिहासिक महत्वका ६५ हजारभन्दा बढी पुस्तक बिथान्को बनेको छ ।

सरोकारवाला शिक्षा मन्त्रालय भने रेट्रो फिटिङ गरिदिन भन्दै बल्ल पुनःनिर्माण प्राधिकरण गुहार्दैछ ।

शिक्षा मन्त्रालयको मागमा तत्काल सुनुवाइ भए भूकम्पले क्षति पुर्‍याएको यस केशर पुस्तकालय रहेको भवनको रेट्रो फिटिङ गरिने छ ।

भवनको पुनःनिर्माण भए बल्ल यसरी असरल्ल छरिएका पुस्तकले सुरक्षा पाउने छ । र, सार्वजनिक प्रयोजनका लागि फेरि यो पुस्तकालय सेवामा उपस्थित हुनेछ ।

तर, भूकम्प गएको डेढ वर्षसम्म मर्मत–सम्भारका लागि उचित पहलै नभएको सन्दर्भमा अब कत्तिको चाँडो काम होला त्यो यसै भन्न सकिन्न ।

जीर्ण बनेको भवनमा पुस्तक राख्नुपर्दाको पीडा यहाँ रहेका कर्मचारीहरुलाईमात्र थाहा छ । वर्षात्काबेलामा प्लास्टिक ओढाएर राख्नुपर्ने तथा अरुबेला धुलोले पुस्तकलाई नै क्षति पुर्‍याइसकेको छ ।

तात्कालीन श्री ३ महाराज चन्द्रशमशेरका छोरा केशरशमशेर बेलायत भ्रमणमा गएकाबेला संकलन गरी ल्याइएका पुस्तक र अरु महत्वपूर्ण पुस्तक संग्रह गरेर केशर पुस्तकालय निर्माण गरिएको थियो ।

व्यक्तिगत प्रयोजनका लागि उनले पुस्तकालयको स्थापना गरेको भएपनि पछि २०२६ सालमा केशरशमशेरले यो पुस्तकालय नेपाल सरकारलाई हस्तान्तरण गरे । र, सर्वसाधारणका लागि खुला गरियो ।

विभिन्न कला–शैलीले भरिपूर्ण, विदेशी सामग्रीको प्रयोग गरी बनाइएको यस भवन पुरातात्विक हिसाबले पनि उत्तिकै महत्वपूर्ण छ ।

३५ रोपनी जमिनमा फैलिएको भवन पुनःनिर्माणमा बढी रकम लाग्ने र उहि स्वरुपमा बनाउनुपर्ने भएकाले पुस्तकालय संरक्षणमा पनि ढिलाइ भएको तर्क अधिकारीहरुको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस्