२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


अख्तियारका निलम्बित प्रमुखविरुद्धको सुनुवाइ पुस २१ मा


0
Shares

न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा लोकमानसिंहविरुद्धका मुद्दामा सुनुवाइ बिहीबारदेखि सुरु भएको हो ।

उनका तर्फबाट शुक्रबार अधिवक्ता बालकृष्ण न्यौपाने र माधव बस्नेतले बहस गरे ।

रिट निवेदक ओमप्रकाश अर्यालका तर्फबाट अधिवक्ता रमेश बडाल, डा. सुरेन्द्र भण्डारी, टीकाराम भट्टराई, गोविन्द बन्दी, डा. चन्द्रकान्त ज्ञवाली, शम्भु थापा, रवि खनाल, सुनिल पोखरेल, विजय मिश्रलगायतले बिहीबार बहस गरेका थिए ।

लोकमानसिंहको नियुक्ति संविधानविपरीत भएको जिकिर गर्दै अधिवक्ता अर्यालले रिट निवेदन दायर गरेका थिए ।

खारेज भइसकेको अधिवक्ता अर्यालको निवेदन सर्वोच्च अदालतले पुनरावलोकन गर्ने निर्णय गरेको थियो ।

लोकमानसिंहका पक्षबाट बिहीबार सहमहान्यायाधिवक्ता किरण पौडेलले बहस गरेका थिए । उनको नियुक्ति संविधानसम्मत भए/नभएको सुनुवाइपछि निर्णय आउनेछ ।

पूर्वकानुनसचिव प्रमोद कार्कीविरुद्ध पनि अदुअआका निलम्बित प्रमुखको मुद्दाका सिलसिलामा म्याद तामेलीमा अवरोध गरेको अभियोग लागेको छ ।

यसैबीच, अदालतले लोकमानसिंह र पूर्वकानुनसचिव प्रमोदलाई आफ्नो मुद्दामा वारेस राख्न पाउने सुविधा दिएको छ ।

मुद्दामा आफैं स्वयं उपस्थित हुनु नपर्ने सुविधा शुक्रबारको पूर्ण इजलासले उनीहरुलाई दिएको हो । यसअघि उनीहरु आफैं मुुद्दाको पेसी बुझ्न आउनुपर्ने हुन्थ्यो ।

म्याद तामेली अवरोध गरेको मुद्दाको सुनुवाइपछि कार्कीद्वयलाई वारेस राख्ने सुविधा दिएको हो ।

आफ्नो मुद्दाको वारेस बुझ्न आएका कार्कीविरुद्ध दुर्व्यवहार भएपछि कार्की पक्षका अधिवक्ताले वारेस राख्न पाउनुपर्ने निवेदन दिएका थिए । रासस