
काठमाडौं, चैत ५ । भारतका अर्बपति व्यापारी मुकेश अम्बानीले भाइ अनिल अम्बानीको ८ अर्ब ऋण तिरिदिएका छन् ।
दाइले ऋण तिर्देकै कारण अनिल अन्तिम समयमा जेल जानबाट जोगिएका हुन् ।
स्वीडेनको एरिक्सन कम्पनीलाई बुधबारसम्म ७.७ मिलियन डलर अर्थात् करिब ८ अर्ब ४० करोड नेपाली रुपैयाँ तिर्नुपर्ने थियो ।
मुकेशले उक्त रकम नतिरेका भए अर्बपति अनिलले तीन महिना जेलको चिसो कोठामा बिताउनुपर्ने थियो ।
विगतमा भएका सबै तिक्तता बिर्संदै अन्तिम समयमा दाइले भाइको उद्धार गरिदिएकाले सर्वोच्च अदालतको आदेशअनुरुप अनिल जेल जानबाट जोगिएका हुन् ।
मुकेशले समयसीमा सकिनु एक दिनअघि अनिलको ऋण तिरिदिएपछि विज्ञप्ति जारी गर्दै अनिलले अफ्ठ्यारो पर्दा साथ दिएको भन्दै दाइ र भाउजु नीतालाई धन्यवाद दिएका छन् ।
विगतको तिक्तता बिर्सेर आफ्नो परिवार नयाँ ढंगले अघि बढिरहेको पनि अनिलले उल्लेख गरेका छन् ।
बुवा धीरूभाइ अम्बानीको मृत्युपछि दुई भाइले सम्पत्ति र व्यापारको ठूलो साम्राज्य नै प्राप्त गरेका थिए ।
तर, सन् २००२ मा बाबुको मृत्युपछि बिरासतमा पाएको उक्त सम्पत्ति र व्यपारकाबारेमा दुई भाइकाबीचमा ठूलो विवाद भयो ।
दुई दाजुभाइ सार्वजनिकरूपमै झगडामा उत्रिएपछि आमाको रोहवरमा सम्पत्तिको बाँडफाँट गरिएको थियो ।
जसमा भागबन्डाकाक्रममा अनिलले टेलिकम र ऊर्जा क्षेत्र तथा मुकेशले तेल र पेट्रोकेमिकलको व्यापार जिम्मा लिएका थिए ।
तर, पछिल्लो समय एकपछि अर्को गर्दै अनिलको व्यापार खस्कँदै गएको छ भने मुकेशले आफ्नो व्यापारको साम्राज्यमात्र फैलाएका छैनन्, उनी विश्वकै धनी व्यक्तिमा दरिएका छन् ।
मुकेशले गत वर्षमात्र १० अर्ब डलर सम्पत्ति थप्दा भाइ अनिल भने आफ्नो कम्पनीमा लागेको ऋण तिर्न नसकेर जेल जानुपर्ने अवस्था आएको थियो ।
‘फाइनान्सियल टाइम्स’काअनुसार अहिलेपनि मुकेशसँग ४२ अर्ब डलरको सम्पत्ति छ ।
अनिल पनि सन् २००८ सम्म त विश्वको आठौं नम्बरका धनी थिए । तर, व्यापारमा ‘चुक्ली’ खुस्किएपछि उनी ओरालो लाग्दै गए र जेलसम्म जानुपर्ने अवस्था आयो ।
अंशबन्डाका समयमा एकार्काको व्यापारमा संलग्न नहुने अवधि सकिएलगत्तै दाइ मुकेशले टेलिकममा लगानी गर्दै ‘जियो’ ल्याएपछि अनिलको ‘रिलायन्स’ ओरालो लाग्न थालेको पनि बताइन्छ ।
अनिलले ४३ अर्ब डलरभन्दा बढी रकम व्यापारमा गुमाएको बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्