३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


सातौं राष्ट्रिय खेलकुदः एथ्लेटिक्सतर्फ विभागीय वर्चश्व


0
Shares

आर्मीका खेलाडीले सोमबारैमात्रै एथ्लेटिक्समा थप चारओटा स्वर्णपदक जितेका छन् ।

सुनसरीको इटहरी रंगशालामा सोमबार बिहान भएको एथ्लेटिक्सतर्फ महिला ४०० मिटर हर्डल्स रेसमा आर्मीले स्वर्णपदक जितेको छ ।

खेलमा आर्मी क्लबकी दुर्गा देवकोटाले स्वर्णपदक जितेकी हुन् । यो स्पर्धामा सशस्त्र प्रहरीकी सविता चौधरी दोस्रो भइन् भने पूर्वाञ्चलकी सविता श्रेष्ठले कास्यपदक हात पारिन् ।

यसैगरी, २०० मिटर महिला दौडमा आमी क्लबकी कृष्णा चौधरीले स्वर्णपदक जितिन् । यो स्पर्धामा आर्मीकै संगीता मेचे दोस्रो तथा मध्यपश्चिमाञ्चलकी प्रमिला थारु तेस्रो भए ।

२०० मिटर दौड पुरुषतर्फ मध्यपश्चिमाञ्चलका यामसाजन सुनारले स्वर्णपदक जित्दा सशस्त्र प्रहरीका आशिष चौधरीले रजत तथा आर्मीका आनन्ददेव थारुले कास्यपदक हात पारे ।

यसैगरी, ८०० मिटर महिला दौडतर्फ आर्मीकी सरस्वती भट्टराईले स्वर्णपदक जितिन् । सातौं राष्ट्रिय खेलकुदलमा सरस्वतीको यो तेस्रो स्वर्णपदक हो ।

यसअघि, उनले महिला १५०० मिटर तथा चार गुणा ४०० मिटर रिले दौडमा पनि स्वर्णपदक हात पारेकी थिइन् ।

यसैगरी, पुरुष ८०० मिटर दौडमा आर्मीका सोमबहादुर कुमालले स्वर्णपदक जिते ।

आर्मीकै जीवन चौधरीले रजत जित्दा सशस्त्र प्रहरीका हिक्मत धामीले कास्यपदक हात पारे ।

एथ्लेटिक्सकै ट्रिपल जम्पतर्फ पुरुषमा नेपाल पुलिस क्लब तथा महिलामा आर्मी क्लबले स्वर्ण जितेको छ ।

महिलातर्फ पुलिसकी केसरी चौधरीले स्वर्णपदक जित्दा सशस्त्र प्रहरीकी शिला चौधरीले रजत तथा आर्मीकी संगीता मेचेले कास्यपदक जिते ।

यसैगरी, पुरुषतर्फ आर्मीका दिल्ली खत्रीले स्वर्णपदक जित्दा पुलिसका चन्द्रदेव जोशीले रजत तथा सुदूरपश्चिमाञ्चलका प्रविणबहादुर पालले कास्यपदक हात पारेका छन् ।