Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


मनमोहक बेलढुंगा


0
Shares

-डम्मर बुढा मगर/ईमेज

बाग्लुङ । महत्वपूर्ण पर्यटकीय स्थल बाग्लुङको धम्जास्थित बेलढुंगा ओझेलमा परेको छ ।

पर्यटकीय सम्भावना बोकेको बेलढुंगा पूर्वाधार र प्रचारप्रसार नहुँदा ओझेलमा परेको हो ।

काठेखोला गाउँपालिकाअन्तर्गत धम्जाको शीरमा पर्ने बेलढुंगा बागलुङ र म्याग्दीको सीमानामा अवस्थित छ ।

जहाँबाट म्याग्दी, बागलुङ, पर्वत, कास्की एवं गुल्मी जिल्लाका अधिकांश भूभाग तथा दर्जनौं हिमश्रृङखलाको दृश्यावलोकन गर्न सकिन्छ ।

अग्लो पहाडमा रहेको बेलढुंगामा पुग्ने जोकोहीले एउटा बेग्लै अनुभूति गर्न सक्छन् ।

धौलागिरी गुर्जा, चुरेन, निलगिरी लगायतका हिमशृङ्खला, लालीगुराँसको फैलावट, वन्यजन्तुको बासस्थानका मनोरम दृश्यले सबैलाई मोहित पार्दछ ।

पछिल्लो समय यस ठाउँको प्रचार प्रसार गर्नको लागि पूर्वाधार निर्माणको पहल सुरु भएको छ ।

बेलढुंगासम्म पुग्ने पदमार्ग बनाउन बजेट विनियोजन गरिएको धम्जाका वडाध्यक्ष यामबहादुर श्रीष बताउँछन् ।

१४ अञ्चल ७५ जिल्लाको संरचना तयार हुनुपूर्व पाल्पा, बुटवल सम्मको यात्राको लागि यहीँ बाटो प्रयोग गरिन्थ्यो ।

पछिल्लो समय धेरै ठाउँमा सडक सञ्जाल जोडिएपछि पदयात्रा गर्नेहरुको संख्या नगन्यजस्तै बनेको छ ।

अग्लो पहाड तथा जंगलका बीचमा रहेको बेलढुंगामा झण्डै ३० जनासम्म बस्न मिल्छ ।

पर्यटकलाई खाना बस्नको धम्जाका केही स्थानीयले घरघरमा सेवा दिन थालेका छन् त्यसका अतिरिक्त बेलढुंगा सामुदायिक होमस्टे पनि रहेको छ ।

बेलढुंगा परिसरमा सयौं वर्ष पूराना गुफाहरु रहेका छन् भने ढुंगामा पुगेपछि ढुंगा हल्लिएको महसुस हुने गर्दछ ।

बेनी नगरपालिका–३ का वडा अध्यक्ष पदमबहादुर पुनले पूर्वाधार नहुँदा पर्यटकलाई बास बस्न पनि समस्या रहेको भन्दै समय समयमा विदेशी पर्यटकहरु पनि आउने गरेको बताए ।

२०५० सालमा १ सय ८ घरधुरी रहेको धम्जामा अहिले बसाइसराईका कारण ४८ घरधुरी पुगेका छन् यस क्षेत्रको प्रचार प्रसार गरी पर्यटन प्रवद्र्धन गर्न सके स्थानीयको जीवनस्तरसमेत माथि उठ्ने थियो ।