
बिराज रोस्यारा (इमेज)
कैलाली, असार ६ । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्कनेको संख्या बढेपनि मापदन्डअनुसारका ‘क्वारेन्टिन’ नबन्दा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ ।
क्वारेन्टिनमा न खानेपानीको उचित प्रबन्ध छ न त शौचालयको नै । सामाजिक दूरीको पालना नगर्दा र सबैलाई एकै ठाउँमा कोच्दा संक्रमण झनै बढ्ने खतरा बढेको छ ।
सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका नागरिकलाई व्यवस्थितरुपमा स्थानीय तहरुले क्वारेन्टिनमा राख्न नसक्दा कोरोना संक्रमण बढ्दै गएको हो ।
क्वारेन्टिनमा प्रयोग गर्ने शौचालय र धाराहरु पर्याप्त नहुनु र एउटै भएकाले पनि कोरोना संक्रमण नियन्त्रणभन्दा फैलने जोखिम बढ्दै गएको हो ।
क्वारेन्टिनमा सुरक्षाका उपाय अवलम्बन गर्न नसकिए समुदायस्तरमा संक्रमण फैलनसक्ने अवस्था रहनसक्ने चिकित्सकहरुले बताएका छन् ।
दूरी कायम नगरी एउटै कोठामा कोचेर राख्ने, शौचालय र धाराहरु एउटै प्रयोग गर्ने भएकाले एकजना संक्रमित भए क्वारेन्टिनमा बसेका अन्यलाई फैलने जोखिम रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीले बताए ।
भारतमा संक्रमित क्षेत्रबाट असुरक्षित तरिकाले सयौंको संख्यामा फर्किएकाहरुबाट कोरोनाको जोखिम बढ्नसक्ने उनको भनाइ छ ।
सुदूरपश्चिममा ९० प्रतिशतभन्दा बढी भारतबाट आएका छन् । यसरी आएकामध्ये १० प्रतिशतको पनि ‘पीसीआर’ परीक्षण हुनसकेको छैन ।
अहिले भारतबाट फर्कनेहरुलाई १४ दिन क्वारेन्टिनमा राख्ने र ‘आरडीटी’ परीक्षण गरी घर फर्काइने गरिएको छ । यसले समुदायस्तरमा समेत कोरोना संक्रमण बढ्ने त्रास देखिन्छ ।
स्थानीयहरुले भारतबाट आएका सबैलाई पीसीआर परीक्षण गरेरमात्र घर पठाउन माग गरेका छन् ।
‘लकडाउन’कै अवधिमा सुदूरपश्चिममा एक लाखभन्दा बढी नेपालीहरु भारतका विभिन्न सहरबाट नेपाल फर्किएका छन् ।
सुदूरपश्चिममा रहेका ६२३ संक्रमतिमध्ये अधिकांश भारतबाट फर्किएका छन् ।
भारतबाट फर्किएकाहरुलाई परीक्षण नगरी घर पठाए सुदूरपश्चिम प्रदेशको अवस्था झनै भयावह हुने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्