म्याग्दी, चैत ४ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, राम्चेमा महिलाहरुको नेतृत्व र सक्रियतामा सामुदायिक भवन तथा ‘पाहुनाघर’ निर्माण भएको छ ।
गाउँमा आउने पाहुनाको आवास सुविधाका लागि राम्चेको आमा समूहले सामुदायिक भवन निर्माण गरेको हो ।
२० लाख रुपैयाँमा निर्माण भएको भवनमा गाउँमा आउने पाहुनालाई बसोबासको व्यवस्था मिलाइएको आमा समूहकी अध्यक्ष कमला पुनले बताइन् ।
गाउँमा आयोजना हुने भोज–भतेर र अन्य कार्यक्रमका लागिपनि यो भवनलाई प्रयोगमा ल्याउने जनाइएको छ । होमस्टेको अवधारणाअनुसार पाहुनाघर सन्चालन गरिएको छ ।
पाहुनाघरको आम्दानी समूहको कोषमा राखेर महिलाको आय–आर्जन र सामाजिक गतिविधिमा परिचालन गर्ने लक्ष्य लिइएको छ ।
भवन निर्माणका लागि तत्कालीन जिविसले ६ लाख ५ हजार २८२ र तत्कालीन राम्चे गाविसले ७ लाख ५२ हजार ४०० रुपैयाँ अनुदान उपलब्ध गराएको थियो ।
यसैगरी, स्थानीयले जग्गा, सामुदायिक वन समूहले ४० हजार रुपैयाँ बराबरको काठ र देश र विदेशमा रहेका राम्चेबासीबाट चन्दा संकलन गरेर भवनलाई पूर्णता दिइएको निर्माण समितिका संयोजक माया पुर्जाले जानकारी दिइन् ।









प्रतिक्रिया दिनुहोस्