
कस्तो रह्यो त वर्ष २०१६ ? यहाँ हामीले राजनीतिकलगायत महत्वपूर्ण घटनाक्रम खोतल्ने प्रयास गरेका छौं । जुन घटनाले वर्षभरि नै विश्वभर तरंग ल्याइरह्यो ।
ट्रम्पको उदय
वर्षको अन्त्यमा सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनले सन् २०१६ को अरु घटनालाई सुरुदेखि नै ओझेलमा पार्यो विश्व रंगमञ्चमा ।
नोभेम्बर ८ को चुनावबाट विवादास्पद छविका रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प अमेरिकाको ४५औं राष्ट्रपतिमा निर्वाचित भए ।
चुनावअघिका सर्वेक्षणमा डेमोक्र्याट उम्मेदार हिलारी क्लिन्टनभन्दा पछि परेका, आफ्नै पार्टीबाट चर्को विरोध खेपेका र मुलुकबाहिरबाटसमेत आलोचना खेपे पनि मतदाताबाट ट्रम्प नै अमेरिकी राष्ट्रपतिमा चुनिए ।
अर्बपति व्यापारी ट्रम्पले मुस्लिम समुदाय, रुस, चीन, आणविक हतियारजस्ता विषयमा दिएका अभिव्यक्तिका कारण विश्व राजनीति नै चलायमान भयो, २०१६ को अन्त्यसम्म पनि ।
सिरिया युद्ध
सन् २०११ मा सुरु भएको सिरियाली गृहयुद्ध सन् २०१६ मा आइपुग्दा अमेरिकी र रुसी स्वार्थको रणभूमि बनेको प्रस्ट देखियो ।
सिरियाली राष्ट्रपति बशार अल असदमाथि रुसी समर्थन र असद विरोधीलाई अमेरिकाले दिएको साथको मारमा करिब चार लाखभन्दा बढी मानिस मरिसके ।
आधाभन्दा बढी जनसंख्याले देश छाडिसके तर शान्तिको संकेत कहीँ–कतै देखिएको छैन ।
युरोपमा आप्रवासी र शरणार्थी
मध्यपूर्व, उत्तरअफ्रिकी मुलुकहरुमा चर्किएको द्वन्द्वका कारण सन् २०१६ मा यूरोप, आप्रवासी र शरणार्थीको भार थेग्न नसक्ने अवस्थामा पुग्यो । लाखौं आप्रवासी यूरोपका विभिन्न मुलुक प्रवेश गरे ।
यसक्रममा समुद्रीमार्ग हुँदै यूरोप लागेका हजारौंको डुबेर दुःखद मृत्यु भयो । यो संख्या पाँच हजारभन्दा बढी भएको राष्ट्रसंघले जनाएको छ ।
उत्तरको ‘आतंक’
विश्व समुदायबाट अलगजस्तै रहेको उत्तर कोरियाले जुलाई ७ मा हाइड्रोजन बमको सफलतापूर्वक परीक्षण गर्यो ।
यो परीक्षणलाई विश्व जगतबाट सधैंझैं निन्दा भयो र ऊविरुद्धको प्रतिबन्ध थप कडा बन्यो । अमेरिकालाई आणविक आक्रमणको धम्की दिने उत्तरको रवैया यो वर्ष पनि उस्तै रह्यो ।
म्यानमारमा सैन्यशासन अन्त्य
सन् २०१६ को जनवरीको अन्त्यमा म्यानमारमा दशकौंदेखिको सैन्यशासन अन्त्य भयो, संसदीय चुनावबाट ।
चुनावमा प्रजातन्त्रवादी नेत्री आङ साङ सुची नेतृत्वको नेसनल लिग फर डेमोक्रेसी पार्टीेले बहुमत हासिल गर्यो । तर, सुचीलाई राष्ट्रपति बन्न भने संवैधानिक अड्चन तगारो बन्यो ।
तेस्रो विश्वयुद्धको चेतावनी
रुसबाट पश्चिमा मुलुकको रवैया परिवर्तन नभए तेस्रो विश्व युद्ध हुने चेतावनी आयो, यही वर्षको फेब्रुअरी १२ मा ।
सिरियाको युद्धमा अरबी मुलुकका सैनिक आएमा तेस्रो विश्वयुद्ध हुने चेतावनी रुसी प्रधानमन्त्री मेदभेदेभले दिएपछि विश्व एकाएक झस्किन पुग्यो ।
‘जाट’ आन्दोलन
सन् २०१६ को फेब्रुअरीमा भारतको हरियाणामा ‘जाट’ समुदायले आरक्षणको माग गर्दै गरेको आन्दोलनले राजधानी दिल्लीसमेत प्रभावित बन्यो ।
हरियाणामा बनाइएको पानीको मुहान मुनक नहरको गेट भत्काएर अवरोध सिर्जना गरेपछि दिल्लीमा पानीको हाहाकार भयो । आन्दोलनकाक्रममा दर्जनौंको मृत्यु भयो ।
पनामा पेपरकान्ड
सन् २०१६ को अप्रिल महिनामा विश्वको अहिलेसम्मकै सबैभन्दा ठूलो मिडिया अनुसन्धानपछि करछलीमा मुछिएका शक्तिशाली व्यक्तिहरुको निदहराम भयो ।
पनामाको एउटा अतिगोप्य कानुनी कम्पनी मोस्याक फोन्सेकाको झन्डै १ करोड १० लाख दस्तावेज सार्वजनिक भएपछि आर्थिक घोटालाहरु सतहमा आए, पनामा पेपर लिक कान्डसँगै ।
प्यारिस जलवायु सम्झौता
यही वर्षको अप्रिल २३ मा विभिन्न देशका प्रतिनिधिले प्यारिस जलवायु सम्झौतामा हस्ताक्षर गरे ।
राष्ट्रसंघको मुख्यालय अमेरिकाको न्यूयोर्कमा भेला भएका विश्वका १ सय ७१ देशका प्रतिनिधिले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
फिलिपिन्समा कट्टरपन्थी राष्ट्रपति
सन् २०१६ को मे १० मा कट्टरपन्थी एवं अपराधविरोधी मानिने रोड्रोगो डुटेर्ते फिलिपिन्सको राष्ट्रपतिमा विजयी भए ।
कानुनविहीन मानिने दक्षिणी सहर डाभाओका मेयर रहिसकेका डुटेर्तेले २२ वर्षे डाभाओ मेयरको कार्यकालमा अपराधीहरुको गैरन्यायिक हत्या गरेको आरोप लाग्ने गरेको छ । जुन कुरा वर्षको अन्त्यतिर आउँदा उनी स्वयंले स्वीकारे ।
४० डमरु मृत फेला
थाइल्यान्डको कञ्चानाबुरीस्थित टाइगर टेम्पल भनिने बौद्ध मन्दिर परिसरको फ्रिजरबाट ४० ओटा बाघका डमरू मृत अवस्थामा भेटिएपछि वन्यजन्तु तस्करीको नयाँ धन्दा खुलासा भयो, सन् २०१६ को जुन १ मा ।
ब्रेक्जिट
जुन १५ को जनमतसंग्रहको परिणामपछि लामो समयसम्म यूरोपेली संघसँग नङ र मासुकोजस्तो सम्बन्ध रहेको ब्रिटेन ईयूबाट अलग हुने निर्णयले तहल्का मच्चियो ।
निर्णयपछि डेबिड क्यामरुनले प्रधानमन्त्री पदबाट राजीनामा दिए । कन्जरभेटिभ पार्टीबाटै थेरेसा मे नयाँ प्रधानमन्त्री बने ।
असफल सैन्य कू
टर्कीमा यस वर्षको जुलाई १५ मा असफल सैन्य ‘कू’ भयो । एकजना सैनिक जनरलको नेतृत्वमा भएको कूमा करिब ९ हजार सैनिकको संलग्नता देखियो ।
२४६ जनाको मृत्यु भयो । कूमा संलग्न भएको आरोपमा हजारौं सुरक्षाकर्मी, पत्रकार, कानुन व्यवसायी पक्राउ परे ।
थाइल्यान्डमा संविधान
थाइल्यान्डमा सेनाद्धारा नियुक्त समितिले लेखेको संविधानको मस्यौदाको अनुमोदन सन् २०१६ को अगष्ट ७ मा भयो ।
सन् २०१४ मा महिनौं लामो राजनीतिक अस्थिरता अन्त्य गर्दै शक्ति हातमा लिएको सेनाले एकथान संविधान बनाएर पेस गर्यो ।
सेनाले तयार पारेको संविधान ठूला दलहरुले भने अस्वीकार गरे । थाइ राजनीति अन्योलमै बित्यो ।
गद्दीत्याग
सन् २०१६ को अगष्ट ८ मा जापानी सम्राट अकिहितोले उमेर र बिग्रँदो स्वास्थ्यका कारण स्वेच्छिक गद्दी त्याग्ने संकेत गरे ।
८२ वर्षीय सम्राटले आफ्नो दोस्रो टेलिभिजन सम्बोधनमार्फत् यस्तो संकेत गरेपनि जापानको कानुनमा गद्दी त्यागको कुनै कानुनी व्यवस्था छैन ।
इरोम शर्मिलाले अनशन तोडिन्
भारतमा विवादास्पद कानुन आर्म फोर्सेस स्पेसयल पावर एक्ट (आफ्स्पा)को विरोधमा १६ वर्षदेखि अनशनरत् इरोम शर्मिलाले अनशन तोडिन्, यही वर्षको अगष्ट ८ मा ।
यो कानुनअनुसार सेनाले बिना पक्राउपुर्जी कसैलाई पनि पक्रन र केही परिस्थितिमा गोलीसमेत हान्नसक्छ ।
भारतीय सेनाले यही कानुनको आडमा १० जनाको हत्या गरेपछि शर्मिलाले अनशन सुरु गरेकी थिइन् ।
हङकङ चुनाव
हङकङमा सन् २०१६ को सेप्टेम्बर ४ मा सम्पन्न विधायन परिषद्को चुनावमा चीनविरोधी अभियानकर्ताहरुको नयाँ पिढींले पहिलोपटक विजय हासिल गरे ।
तर, शपथ लिँदा चीनप्रति निष्ठा व्यक्त गर्न अस्वीकार गरेका दुई विधायकलाई परिषदको सदस्य रहन अयोग्य ठहर गरियो ।
गृहयुद्द अन्त्य
कोलम्बियामा ५० वर्षभन्दा लामो समयदेखिको गृहयुद्ध अन्त्य भयो । सरकार र फार्क विद्रोहीबीचको शान्ति–सम्झौता संसदबाटै अनुमोदन भयो, सन् २०१६ को नोभेम्बरमा ।
गुटेरेस नयाँ महासचिव
पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनियो गुटेरेस संयुक्त राष्ट्रसंघको नयाँ महासचिव बने अक्टोबरमा ।
१० वर्षसम्म राष्ट्रसंघीय शरणार्थी नियोगको नेतृत्व सम्हालेका ६६ वर्षीय गुटेरेसले नयाँ वर्षसँगै बान कि मुनको ठाउँ लिनेछन् ।
राष्ट्रपतिविरुद्ध महाअभियोग पारित
दक्षिण कोरियामा राष्ट्रपति पार्क गुयन हेइविरुद्धको महाअभियोग प्रस्ताव पारित भएपछि उनी पदमुक्त भइन्, सन् २०१६ को अन्तिम महिनामा ।
भ्रष्टाचार र शक्तिको दुरुपयोगको गरेको आरोपमा उनलाई आफ्नै दलका सांसदलेसमेत साथ छोडेको देखियो ।
‘नोटबन्दी’
भारतले जाली नोटको कारोबारलाई निरुत्साहित गर्न भन्दै एक हजार र पाँच सयको नोट बजारमा चलाउन पूर्णरुपमा रोक लगायो, नोभेम्बर महिनामा ।
कालोधनसँग लड्न यस्तो व्यवस्था गरेको भनिएपनि सर्वसाधरणले भने निकै सास्ती खेप्नुपर्यो । विपक्षीको विरोध चर्को रह्यो ।
यहुदीबस्ती हटाउन आदेश
सन् २०१६ को अन्त्यतिर राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकले प्यालेस्टाइन सीमामा अवैधरुपमा बनाइएका यहुदीबस्ती हटाउन इजरायललाई आदेश दिने प्रस्ताव पारित भयो ।
अमेरिकाको असहयोगपछि इजरायल रुस्ट बन्दै आदेश नमान्ने उद्घोष ग¥यो । इजरायलले सन् १९६७ मा पश्चिमी किनारा र पूर्वी जेरुसेलम कब्जा गरेको थियो ।
क्यास्ट्रोको निधन
क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भयो, नोभेम्बर २६ मा ।
वामपन्थी आन्दोलनका प्रमुख कमान्डर क्यास्ट्रोले एकदलीय कम्युनिष्ट शासन व्यवस्थाअन्तर्गत् झन्डै ५० वर्षसम्म क्युवाको एकछत्र नेतृत्व सम्हालेका थिए ।
समर्थकहरु क्युवाका नागरिकलाई आफ्नो देश फिर्ता दिलाउने व्यक्ति भन्छन् भने विरोधीहरुले उनलाई तानाशाह मान्ने गरेका छन् ।
अस्ताइन् ‘अम्मा’
फिल्मको रंगीन दुनियाँबाट राजनीतिक रंगमञ्चमा होमिएर पनि सफल बनेकी भारतीय नेत्री जयललिताको ६८ वर्षको उमेरमा हृदयाघातबाट निधन भयो, डिसेम्बरमा ।
दक्षिण भारतीय फिल्मी जगतकी सफल अभिनेत्री जयललिताले राजनीतिका अनेक तिकडमलाई परास्त गर्दै तमिलनाडुमा ६ पटक मुख्यबन्त्रीको बागडोर सम्हालिन् ।
उनको निधनबाट सम्हालिन नसकेका धेरै समर्थकले आत्महत्या गरेको खबरसमेत सार्वजनिक भयो ।
बक्सिङका बादशाहको महाप्रस्थान
बक्सिङका बादशाह नै मानिने पूर्वहेभिवट विश्व च्याम्पियन मोहम्मद अलीको निधन यही वर्षको जुलाईमा भयो ।
स्वास प्रश्वासको समस्याबाट ग्रसित तीनपटकको विश्व च्याम्पियन ७४ वर्षिय अलीलाई पार्किन्सन्सको समस्या पनि थियो ।
थाइ नरेश बिते
थाइल्यान्डका निकै सम्मानित नरेश भूमिबोल अब्दुल्यादेजको ८८ वर्षको उमेरमा निधन भयो, सन् २०१६ को अक्टोबर १३ मा । ६४ वर्षीय युवराज महावचिरालङकन नयाँ थाइ नरेश बने । –एजेन्सीको सहयोगमा ।
प्रतिक्रिया दिनुहोस्