
४१औं राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेस बागलुङ, क्षेत्र नम्बर–१ ले शनिबार बागलुङमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
‘विधेयक संसदमा टेबुल हुन्छ, कुनैपनि हालतमा पास हुन्छ, हामी पास गरेरै छोड्छौं’–सभापति देउवाले भने ।
विपक्षी नेकपा एमालेलगायतका दलले संसद अवरुद्ध गरेर प्रजातन्त्रविरोधी कार्य गरेको उनको भनाइ छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले विपक्षीलाई संसदको अवरोध हटाउन आग्रह गर्दै यदि अवरोध भइरहे पनि संसदको प्रक्रिया अघि बढ्ने उल्लेख गरे ।
‘संसदलाई बन्द गर्न मिल्दैन, यो प्रक्रियामा अघि बढ्छ’–देउवाले भने–‘विपक्षीले प्रक्रियाबाटै विधेयक फेल गराओस्, हामीलाई हराओस् ।’
उनले विपक्षीले संसद अवरुद्ध गरेर गैरलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाए ।
यसअघि नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको सम्झौताकै वरिपरि रहेर वर्तमान सरकारले संशोधन प्रस्ताव ल्याएको उनको भनाइ छ ।
राष्ट्रिय एकता र मेलमिलाप कायम गराउन सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको सभापति देउवाले बताए ।
‘यो देश सबैको हो, मधेसलाई अविश्वास गरेर हाम्रो राष्ट्रियता बलियो हुँदैन’–सभापति देउवाले भने–‘सीमामा बसेर देशको रक्षा गर्ने तिनै मधेसीहरु हुन् । मधेस, पहाड, हिमालबीचको एकतालाई सुदृढ गर्नु आवश्यक छ ।’
उनले सबै जातजाति, वर्ग, समुदायबीच राष्ट्रिय एकता कायम गरेर मुलुकलाई अघि बढाउन वर्तमान सरकार लागिपरेको उल्लेख गरे ।
आगामी १४ महिनाभित्र तीन तहको निर्वाचन गर्नुपर्ने राष्ट्रिय अभिभारा मुलुकसामु रहेको सभापति देउवाले बताए ।
उनले मुलुकका ठूला परिवर्तनमा नेपाली कांग्रेसले अगुवाइ गरेको भन्दै संविधान कार्यान्वयन पनि नेपाली कांग्रेसकै नेतृत्वमा हुने दाबी गरे ।
आमसभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे, गोविन्द भट्टराई, अर्जुनप्रसाद जोशी, सरिता प्रसाइँ, नेपाली कांग्रेस बागलुङका सभापति दीपेन्द्रबहादुर थापालगायतले सम्बोधन गरेका थिए ।
सभापति देउवाले शनिबारै नेपाली कांग्रेस, बागलुङको नयाँ कार्यालयको उद्घाटनसमेत गरेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्