कुष्ठरोगका कारण ४० वर्षदेखि खोला किनारमा बास « Image Khabar


कुष्ठरोगका कारण ४० वर्षदेखि खोला किनारमा बास


Imagekhabar
१८ पुष २०७३, सोमबार ०७:३३

-लोकेन्द्र खनाल

बाँफीकोट–८ की ६० वर्षीया तुलसा केसी कुष्ठरोगकै कारण ४० वर्षदेखि स्थानीय ढार्नेखोलाको छेउमा बस्न बाध्य भएकी हुन् ।

सानै उम्मेरमा कुष्ठरोग भएपछि उनलाई आफन्त र गाउँलेले खोलाको किनारमा बनाइदिएको सानो छाप्रोमा बस्दै आएकी हुन् ।

१३ वर्षको उम्मेरमै कुष्ठरोग लागेको र त्यस बेलादेखि आफू एक्लै बस्दै आएको केसीले बताइन । लामो समयदेखि कुष्ठरोगले पीडित बनेकी केसीलाई अहिले भने सञ्चो भइसकेको छ ।

रोग सञ्चो भए पनि गाउँमा आफूलाई हेर्ने दृष्टिकोण नफेरिएको उनको गुनासो छ । “अहिले पनि गाउँमा कतै म जाँदा कुष्ठरोगी आई भन्दै सबै टाढा भाग्छन्, केसीले भने त्यही भएर पनि म यही कटेरोमा (सानो छाप्रो) बस्छु ।”

उनी अहिले अपाङ्ग बनेकी छिन् । केसीका हात, खुट्टाका औँला छैनन् भने शरीरमा गाठागुठी परेका छन् ।

सुनसान खोलाको छेउमा रहेको सानो छाप्रोमा बस्ने केसीले गाउँमा मागेर छाक टार्ने गरेको बताइन ।

बस्ने बास, खाने गाँसका साथै रात काट्नको लागि कपडा समेत नभएपछि अहिले चिसोमा निकै समस्या भएको उनले बताइन ।

“चिसोको समयमा त रातभरि आगो बालेरै बस्छु, चिसोले सुत्न सक्दिन उनले भनिन, मलाई सहयोग गर्ने कोही भए कपडा र यो मेरा घर बनाइदियोस् ।”

रोग लागेपछि औषधि उपचार गर्ने ठाउँ नहुँदा धामीझाँक्रीको कारणले गर्दा आफू अपाङ्ग भएको केसीको भनाइ छ । उनी अहिले लट्ठीको सहाराले गाउँघरमा जानआउन सक्छिन् ।

अहिले पनि केसीलाई कसैले घरभित्र जान भने दिँदैनन् । गाउँ घरमा गए पनि आँगनभन्दा टाढाबाटै खानेकुरा माग्ने गरेको उनले बताइन् । रासस

प्रतिक्रिया दिनुहोस्