
काठमाडौं, चैत ३ । भारतमा आगामी अप्रिल ११ बाट सत्रौं लोकसभाका लागि संसदको चुनाव हुँदैछ ।
जतिजति चुनावको मिति नजिकिँदै छ, उतिउति नेताहरुबीच एकार्कालाई आक्रमण गर्नेक्रम पनि बढेको छ ।
नरेन्द्र मोदी प्रधानमन्त्री भएको साढे चार वर्ष पूरा भइसकेको छ । अघिल्लो निर्वाचनमा आफू मुलुकको चौकीदारी गर्न आएको बताएका उनलाई विपक्षी कांग्रेस आइका अध्यक्ष राहुल गान्धीले केही महिनायता लगातार ‘चौकीदार नै चोर’ भएको आरोप लगाइरहेका छन् ।
गान्धीले राफेलकान्डमा प्रधानमन्त्रीकै मिलेमतोमा ठूलो घोटाला भएको दाबी गर्दै हरेकजसो सभा, सम्मेलन, भेटघाटमा चौकीदार चोर भएको आरोप लगाउँदै आएका छन् ।
उनले चौकीदार नै चोर भएपछि कसले गर्छ ढुकुटीको रक्षा ? भन्ने सवाल उठाएका हुन् ।
तर, प्रधानमन्त्री मोदी पनि के कम ! कांग्रेसले लगाएको चौकीदार चोरकै नारालाई चुनावी नारा बनाइदिए ।
उनले आफ्नो नामका अगाडि चौकीदार थपेर ‘चौकीदार नरेन्द्र मोदी’ राख्दै ट्वीटर ह्यान्डल सार्वजनिक गरेका छन् ।
मोदीका साथै भाजपाका अरु नेताहरुले पनि आफ्नो नामअगाडि चौकीदार लेख्न थालेका छन् ।
भाजपा अध्यक्ष अमित शाहले ‘चौकीदार अमित शाह’ राख्दै ट्वीटर ह्यान्डल सार्वजनिक गरेका छन् ।
कांग्रेसले ‘चौकीदार चोर’को आरोप प्रचारलाई आक्रामक बनाएपछि त्यही नारा टिपेर भाजपाले लोकसभा चुनावलाई ‘मै भी चौकीदार’ अभियान थालेको थियो ।
३ मिनेट ४५ सेकेन्डको भिडियोमार्फत् सार्वजनिक गरिएको ट्वीटमा मोदीले ‘तपाइँको यो चौकीदार राष्ट्रको सेवामा बलियोसँग उभिएको छ । तर, म एक्लो छैन’–भनेका छन् ।
उक्त भिडियोमा देशको विभिन्न भूगोल, क्षेत्र, कर्ममा संलग्नहरुको भनाइसमेत राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्