१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


दामनमा डाँडा, सडक हिउँले ढाक्यो, रमाउनेको भीड


0
Shares

राति आइपुगेको त्यो जोडीसँग तीन मोटरसाइकलमा ६ जना थिए । मंगलबार बिहान सूर्योदयकाबेला सिमभञ्याङमा उनीहरु हिउँमा रमाउँदै गरेका भेटिए ।

दिना र जीवनसँगै साथीहरु नेपालगन्जका अमृत मल्ल र काभ्रेका दिनेश लामा पनि रमाउँदै थिए । उनलाई सहयोग गर्दै थिए स्थानीयवासी दिवस बस्नेतले ।

‘साह्रै रमाइलो भो !’ सेल्फी खिच्दै गरेका युगल जोडी दिना र जीवनले भने–‘हिउँसँग खेल्दाको आनन्दै बेग्लै ।’

उनीहरुले दामनको भ्यूटावरबाट दृश्यावलोकन गरे । हिमालका आकर्षक चुचुराले मन लोभ्यायो ।

सुन्दर डाँडाकाँडा र प्राकृतिक मनोरम दृश्यले मनमोहक दामन र सिमभञ्याङ क्षेत्रले जो कोही पर्यटकलाई लालायित पार्छ ।

वि.सं. २०६४ पछि राम्ररी हिउँ नपरेको र गत वर्ष पनि अन्तिम फागुनतिर सामान्य हिउँ परेकाले यो वर्ष सुरुआतमै हिउँ पर्दा संकेत राम्रै मिलेको छ ।

मकवानपुरको थाहा नगरपालिका–९ मा पर्ने दामन–सिमभञ्याङ समुद्र सतहबाट दुई हजार ४८८ मिटरको उचाइमा पर्छ । गएको यही आइतबार यहाँ यो वर्ष पहिलोपटक हिउँ पर्‍यो । हल्ला देशभरि फैलिएपछि सोमबारदेखि दामनमा आन्तरिक पर्यटक भरिन थालेका छन् ।

हिउँ परेको थाहा पाएर सोमबार साँझ आकस्मिक निर्णय गर्दै फिल्म निर्माता सुशान्त श्रेष्ठ पनि दामन पुगे । मंगलबार बिहान हिउँमा रमाए । सेल्फी लिए । उनलाई साथ दिएका थिए, अर्का फिल्म निर्माता तथा फिल्मी पत्रकार रवि अधिकारीले ।

चितवनबाट दामनमा हिउँ खेल्न पुगेका अधिकारीले भने–‘मेरो तीन-चार वर्षपछिको अवसर हो । पर्यटकलाई मोहक पार्ने ठाउँमा एकपटक पुग्नै पर्छ ।’

‘सिमभञ्याङमा सिमलका भुवाझैं झरेका हिउँका कण र सेताम्मे पाखापखेरा, घरहरुले मनमोहक नै पार्छ’–फिल्मकर्मी सुशान्त श्रेष्ठले भने–‘फिल्मका दृष्य कैद गर्न पनि दामनले लोभ्याउने गरेको छ ।’

‘यसपालि त्यति बाक्लो हिउँ परिसकेको छैन तर डाँडाभरि नै हिउँले ढाकोको छ’–न्यू दामन थकाली भान्छाघरकी सन्चालिका दुर्गा भण्डारी यहाँ भएका १०–१२ ओटा होटल भरिभराउ भएको बताउँछिन् ।

हरेक चिसो मौसममा यहाँ हिउँ पर्ने भएकाले आन्तरिक पर्यटक दामन जान समय नै छुट्याएर बस्छन् । मकवानपुरको जिल्ला सदरमुकाम हेटौंडाबाट करिब ५२ किलोमिटर उत्तरमा यो क्षेत्र पर्छ । काठमाडौंबाट दक्षिणतर्फ झन्डै ७० किमी छ दामन ।

काठमाडौं उपत्यकाबाट धेरै पर्यटक दामनमा हिउँ खेल्न आउँछन् । मकवानपुर, चितवनलगायत जिल्लाका आन्तरिक पर्यटकको ध्यानसमेत यसले खिचेको छ ।

हिउँ पर्ने मौसममा हिउँ खेल्न र गर्मी मौसममा शीतलता लिन पर्यटक आउने गरेको थाहा नगरपालिका–८ किटनीका स्थानीयवासी वृद्ध शालिग्राम केसीको भनाइ छ ।

दामन र सिमभञ्याङमा मंगलबार बिहानको दृश्य मनमोहक थियो । अघिल्लो रातिदेखि नै यहाँका होटल भरिएका थिए । डाँडा, पाखा, पखेरा हिउँले ढकमक्क थिए ।

तरकारीको नर्सरीमा प्लास्टिकले ढाकेर सेताम्मे पारेकाजस्ता बारीका पाटा हिउँले भरिँदाको दृश्य बयान गर्नै नसकिने किसिमको थियो । रुखका बुट्यान, झारपात, पतिंगर, हिउँले ढाकेर सेताम्मे फूल खिलेझैं देखिन्थे ।

पोखरीमा जमेको पानी । पानी माथिपट्टि फुटेर सिसाका तिखा टुक्रा झरेजस्तै पानी जमेको दृश्य, अनि पखेराभरि हिउँले भरिएको दृश्यावलोकनमा पर्यटक लोभिएका थिए । घर, करेसाबारीदेखि सवारी–साधनका सिसामा हिउँ भरिँदा साँच्चै नै मन्त्रमुग्ध पार्छ दामनले ।

समूह–समूहमामात्रै हैन प्रेमिल जोडीको मंगलबार बिहान यहाँ ठूलै भीड थियो । दिवस बस्नेत यहाँ युवाको आकर्षण भने बढ्दो रहेको बताउँछन् ।

मंसिरदेखि फागुनसम्म हिउँको मौसम हुन्छ । कुनबेला हिउँ पर्छ थाहै हुँदैन । सेता र राता रङका लालीगुराँस फुल्ने मौसममासमेत पर्यटकले मनोरञ्जन लिन्छन् । भ्यूटावरमा बसेर दृश्यावलोकन गर्नुको मज्जा नै बेग्ले हुने अनुभव छ पर्यटकको ।

सोही क्षेत्रमा रहेको करुणाभूमि सामुदायिक वनका अध्यक्ष विनोद लामा जैविक विविधतालेसमेत भरिपूर्ण भएकाले यस ठाउँले पर्यटकलाई तान्ने बताउँछन् ।

दामनबाट जति हिमशृंखला देखिन्छ त्यति नेपालको कुनै ठाउँबाट पनि नदेखिने उनको भनाइ छ । सगरमाथालगायत आठ हजार मिटरमाथिका आठओटा हिमाल देखिने उनको दाबी छ ।

हिमशिखर होटलका सञ्चालक पाल्साङ भोम्जनको होटल मंगलबार आगन्तुकले भरिएको थियो । दामनदेखि हेटौंडा आउने १०–१५ किमी तलसम्म सडक छेउछाउ हिउँले ढाकेको थियो ।

यो वर्ष अलि छिटो हिउँ परेको उनको अनुभव छ । अघिल्लो वर्ष अलि पछाडि फागुनमामात्रै त्यही पनि सामान्य हिउँ झरेको थियो । अहिले चाँडै नै परेको स्थानीयवासीले बताए ।

‘चाँडै हिउँ परेको छ, दामनका लागि शुभसंकेत हो, पर्यटक आउने आशा पलायो’–पाल्साङले भने ।

वि.सं. २०६४ मा झन्डै तीन फिटसम्म हिउँ परेको थियो । त्यसपछि दामन सिमभञ्याङमा राम्ररी हिउँ परेको छैन । यो साल शुभसंकेत देखिएकाले आशा पलाएको छ स्थानीय व्यवसायीमा ।

‘पहिले–पहिले सडक विभागले बाटोमा हिउँ पगाल्न नुन छथ्र्याे, डोजर लगाएर हिउँ बढार्नुपथ्र्याे, अहिले हिउँ धेरै कम छ’–स्थानीयवासी शालिग्राम केसीले भने ।

मुख्यगरी क्रिसमस, अंग्रेजी र नेपाली नयाँ वर्ष, विभिन्न मेला तथा बिदाका दिनमा आन्तरिक पर्यटक दामन आउँछन् । यहाँ दुर्लभ प्रजातिको सुनगाभासमेत पाइन्छ ।

करुणाभूमि सामुदायिक वनका अध्यक्ष विनोद लामा यहाँ यति नै पर्यटक आउँछन् भनेर लेखाजोखा नभएको बताउँछन् । यहाँ अहिले एउटा कोठाको एक हजारदेखि दुई हजार २५ सयसम्मका छन् । खाना सादा रु १५० र मासुसहित रु २०० कम्तीमा पर्छ ।

तर, धेरैजसो होटल बाह्य पर्यटक लोभ्याउने खालका नभएकाले यसतर्फ पनि ध्यान दिनु जरुरी देखिन्छ ।

यस वर्ष रु दुई करोडको बजेट परेकाले पर्यटकीय पूर्वाधार निर्माण गरी व्यवस्थित पार्ने योजना रहेको अध्यक्ष लामाले बताए ।

दामनलाई जसरी विकास गर्नुपर्ने हो त्यसरी विकास गर्न भने नसकिएको स्थानीयवासी बताउँछन् ।