प्रधानमन्त्रीको एक करोड घोषणाले आशावादी, तर पीडित दुःखी (भिडियो रिपोर्ट) « Image Khabar


प्रधानमन्त्रीको एक करोड घोषणाले आशावादी, तर पीडित दुःखी (भिडियो रिपोर्ट)


Imagekhabar
२० पुष २०७३, बुधबार १९:५१

तर, राहतको प्याकेज घरधनीमामात्र केन्द्रित भएको भन्दै पीडितहरुले क्षतिको विवरणको आधारमा राहत उपलब्ध गराउन माग गरेका छन् ।

तेह्रथुमको संक्रान्तिबजारका अग्निपीडितहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालले घोषणा गरेको राहत प्याकेजले आशावादी तुल्याएको छ ।

तर, निकै दलबलसहित जिल्लाका सबै सभासद लिएर संक्रान्तिबजार पुगेका प्रधानमन्त्री दाहालले घोषणा गरेको महत्वाकांक्षी राहतको प्याकेज घरधनीकेन्द्रित भएको भन्दै पीडितहरुले क्षतिको विवरणको आधारमा राहत उपलब्ध गराउन माग गरेका छन् ।

आगलागीमा जलेका २९ ओटा घरका २५ जनामात्रै घरधनी छन् । तीमध्ये अधिकांश घरधनीहरु बाहिर रहेको र घरधनीभन्दा घर भाडामा लिएर व्यवसाय गर्नेहरुको ठूलो धनमाल जलेर नस्ट भएकाले क्षतिको विवरणका आधारमा राहत उपलब्ध गराउन माग गरिएको पीडित बताउँछन् ।

आगलागीबाट विस्थापित ७३ परिवारमध्ये डेरावाल कर्मचारीबाहेक ५६ परिवार छन् । त्यसमध्ये ४६ परिवारको व्यवसाय, पसलसमेत आगलागीमा जलेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राहतको प्याकेज भन्दै अग्निपीडितका लागि मंगलबार प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषबाट एक करोड रुपैयाँ दिने घोषणा गरेका थिए ।

तर, सो रकम घरधनीले घर बनाउनका लागिमात्रै पाउने भएकाले पीडितहरुले क्षतिको विवरणको आधारमा राहत दिने व्यवस्था गरिदिन माग गरेका हुन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

 

 

प्रतिक्रिया दिनुहोस्