११ भाद्र २०८२, बुधबार | Wed Aug 27 2025


राजमार्गमा सवारी चलाउनेहरुको पिसाव परीक्षण सुरु


0
Shares

बारा । प्रदेश नम्बर २ ट्राफिक कार्यालय पथलैयाले राजमार्गमा चल्ने सवारी साधनका चालकको पिसाव परीक्षण गर्न सुरु गरेको छ ।

लागूपदार्थ सेवन गरी सवारी चलाउनेहरुका कारण दुर्घटनाको संख्या बढेको गुनासो आएपछि नियन्त्रणका लागि पथलैयास्थित ट्राफिक प्रहरी कार्यालयले सडकमै पिसाव परीक्षण गर्न सुरु गरेको हो ।

सवारी दुर्घटना न्यूनीकरण गर्ने अभियान कै रुपमा सञ्चालित यो अभियानलाई प्रदेश ट्राफिक कार्यालय पथलैयाले यसअघि पनि विभिन्न ठाउँमा परीक्षण गरेको थियो ।

अव राजमार्गमै सवारी चालकलाई रोकेर नियमित पिसाव परीक्षण गरिने प्रदेश नम्बर २ प्रदेश ट्राफिक कार्यालय पथलैयाका प्रवक्ता प्रहरी निरीक्षक रिपेन्द्र सिंहले जानकारी दिए ।

प्रहरीले नियमित चेकजाँच गर्न थालेपछि लागूपदार्थ सेवा गरी सवारी चलाउनेहरुको संख्या घटेको सिंहको भनाइ छ ।

सिंहका अनुसार नेपालमा ड्रग युरिन टेष्ट किटबाट सडकमै जाँच गरिएको यो पहिलो पटक हो ।

ब्रेथलाइजरबाट चेकजाँच गर्दा मादक पदार्थ सेवन गरेको मात्र पत्ता लाग्ने तर लागू औषध गाँजा जस्ता अन्य पदार्थ सेवन गरेको थाहा नहुने भएकाले चालकले मदिरा सेवनलाई कम गर्दै लागु औषधको प्रयोग बढाएको निष्कर्ष प्रहरीले निकालेको छ ।