संशोधन प्रस्तावमा संसदमा जबर्जस्ती छलफल गर्न खोजे कडा प्रतिवाद गर्ने चेतावनी « Image Khabar


संशोधन प्रस्तावमा संसदमा जबर्जस्ती छलफल गर्न खोजे कडा प्रतिवाद गर्ने चेतावनी


Imagekhabar
२२ पुष २०७३, शुक्रबार १७:५२

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित ९ दलले शुक्रबार भृकुटीमन्डपमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनीहरुले संविधान संशोधन विधेयक राष्ट्रहितमा नभएको जनाउँदै सरकारलाई प्रस्ताव फिर्ता लिन माग गरे ।

नेकपा मालेका महासचिव सीपी मैनालीले सर्वोच्च अदालतले दिएको आदेशलाई पालना गर्नका लागि विधेयक फिर्ता लिनुपर्ने बताए ।

‘सर्वोच्च अदालतले पनि संशोधन विधेयकमा अहिलेको संसदले केही गर्न नपाउने आदेश दिएको छ’–उनले भने–‘प्रदेश संसदको अधिकारलाई अहिलेको संसदले कटौती गर्न मिल्दैन । त्यसैले संशोधन प्रस्ताव फिर्ता गर्नुपर्छ ।’

उनले सरकारले ‘अदालतको आदेशलाई पनि नमानी संसदमा जबर्जस्ती छलफल गर्न खोजे’ आफूहरुले कडा प्रतिवाद गर्ने चेतावनी दिए ।

कार्यक्रममा राष्ट्रय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ‘गणतन्त्र देशलाई विभाजित गर्न नल्याइएको बताउँदै नेपाली जनता अखन्ड नेपालका पक्षमा छन्’–भने ।

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य प्रेम सुवालले बाह्य आग्रहमा संशोधन विधेयक ल्याइएको भन्दै विधेयकमाथि संसदमा छलफल नहुने बताए ।

नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले ‘सर्वोच्च अदालतले संशोधन प्रस्तावको विपक्षमा फैसला गरेकाले’ सरकारले प्रस्ताव फिर्ता लिनुको विकल्प नभएको बताए ।

उनले अहिलेको आवश्यकता संविधान संशोधन नभइ निर्वाचन भएकाले चाँडै निर्वाचनको मिति घोषणा गरेर देशलाई राजनीतिक संक्रमणकालीन अवस्थाबाट जोगाउन सरकारसँग आग्रह गरे ।

उनले अदालतले नै संशोधन बुँदामा अहिलेको संसदले संशोधन गर्न नपाइने भनेको जिकिर गर्दै सरकारले जबर्जस्ती विधेयक पेस गर्न खोजेर मुठभेड निम्त्याउन खोजेको आरोप लगाए ।

राष्ट्रिय बहुजन पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान, राष्ट्रिय नेपाः पार्टीका नेता एवं सांसद लक्ष्मण राजवंशी नेपाल जनमुक्ति पार्टी (लोकतान्त्रिक)का शिवलाल थापालगायतले संशोधन प्रस्ताव जनविरोधी भएको जनाउँदै त्यसलाई फिर्ता लिनुपर्ने बताए ।

सभा हुनुभन्दा अगाडि विभिन्न ठाउँबाट झाँकीसहित पदयात्रा निकालिएको थियो ।

पदयात्रामा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल, मालेका महासचिव मैनाली, जनमोर्चाका अध्यक्ष केसीलगायतको सहभागिता थियो । रासस

 

प्रतिक्रिया दिनुहोस्