ओलीले मधेसी नेतालाई भने–‘हैसियत बुझेर बोल्नोस्’, कसले–के भने ? (भिडियोसहित) « Image Khabar


ओलीले मधेसी नेतालाई भने–‘हैसियत बुझेर बोल्नोस्’, कसले–के भने ? (भिडियोसहित)


Imagekhabar
२२ पुष २०७३, शुक्रबार १८:११

हजारौंको सहभागिता रहेको विरोधजुुलुस राजधानीका विभिन्न स्थानबाट निकालिएको थियो । सहरका विभिन्न भागको परिक्रमापछि जुलुसहरु भृकुटीमन्डपमा आमसभामा परिणत भएका थिए ।

विरोधसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदबाट राष्ट्रहितविपरीतका कुनैपनि प्रस्ताव पारित हुन नदिने अडान दोहोर्‍याए ।

देश बचाउनका लागि राजधानी जागिसकेको भन्दै उनले यो जागरणलाई अब देशव्यापीरुपमा अघि बढाउने उद्घोष पनि गरे ।

संविधान संशोधन प्रस्तावको पछाडि अत्यन्तै गम्भीर षड्यन्त्र लुकेको जिकिर गर्दै ओलीले ‘संशोधन प्रस्ताव जुवाडेले तासका पत्ति पछारेर सम्पत्ति हारेजस्तै हुने’ तर्क गरे ।

संशोधनभित्र देश विखन्डन गर्नेमात्रै नभइ मैथली, भोजपुरी, अवधिजस्ता भाषाहरुलाई समाप्त पारेर हिन्दी लाद्ने खेल पनि लुकेको उनको भनाइ थियो ।

उनले ‘नेपाललाई सधैं अस्थिरता र गन्जागोलमा राख्ने र अन्तत्वगत्वा नेपाललाई विभाजित गर्ने षड्यन्त्र भइरहेको छ’–भने ।

केही मधेसवादी नेताहरुले ‘एमालेलाई मधेसबाट बाजा बजाएर बिदाइ गर्ने’ भनेको प्रसंग उठाउँदै ओलीले हैसियत बुझेर बोल्न सुझाव दिए ।

त्यसअघि, सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ‘कसैको चित्त बुझाउने नाममा देशको कलेजो काटेर दिन सकिँदैन’–भने ।

त्यस्तै, नेकपा मालेका अध्यक्ष सीपी मैनालीले ‘संविधान संशोधन विधेयकलाई असफल बनाउन नसके देश भुटानीकरण हुन बेर लाग्दैन’–भने ।

त्यस्तै, नेपाल मजदुर किसान पार्टीका नेता सुनील प्रजापतिले नेपाललाई सिक्किमीकरण गर्नका लागि भारतले केही मधेसी नेताहरुलाई प्रयोग गरेको आरोप लगाए ।

प्रदर्शनको नेतृत्व एमालेले गरेको थियो भने नेकपा माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक), बहुजन शक्ति पार्टी, नेपाः राष्ट्रिय पार्टी र मधेस समता पार्टीले साथ दिएका थिए ।

संसदमा एक तिहाइ बढी मत रहेका ९ दल संविधान संशोधन प्रस्तावको विरोध गर्दै आएका छन् भने तत्काल स्थानीय निर्वाचन घोषणा गर्न माग गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस्