
-प्रकाश लम्साल, ईमेज
सरकारको भर पर्दा विगतमा जस्तै खेतमै उखु सुक्ने र भुक्तानीमासमेत समस्या आउने भन्दै किसानले चिनी उद्योगसँगै सहमति गरेर उखु दिन थालेका हुन् ।
सरकारले उखुको मूल्य निर्धारण गर्न ढिलाई गरेपछि बाराका किसानले चिनी उद्योगसँग सहमति गरेरै उखु दिन थालेका छन् ।
किसान र चिनी उद्योगबीच प्रतिक्विन्टल ५ सय १७ रुपैयाँमा उखु किनबेच गर्ने आन्तरिक सहमति भएको छ । उनीहरुबीच सरकारले पछि मूल्य तोकेपछि सोहीअनुसार भुक्तानी गर्ने सहमति पनि भएको छ ।
योसँगै बाराको मनहर्वास्थित रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिजले किसानको उखु खरिद गर्न किसानलाई चलान पूर्जी वितरण गर्न सुरु गरेको जनाएको छ ।
बाराको साना किसान कृषि सहकारी बडरुवाले कृषिको एकै सिजनका लागि करिब ८ करोड रुपैयाँ लगानी गरेको जनाएको छ ।
जसमध्ये ७५ प्रतिशत लगानी उखुमा रहेको छ । सरकारले निर्धारण गर्ने मूल्य पर्खंदा किसानको खेतमै उखु सुक्न थालेकाले चिनी उद्योगसँग सहमति गरी बिक्रीवितरण गर्न थालेको सहकारीका प्रबन्धक पुष्प खतिवडाले बताए ।
किसानसँग सहमति भएसँगै चिनी मिलले बाराका १३ स्थानमा उखु खरिद केन्द्र स्थापना गरेको छ ।
बारा र पर्साका किसानलाई लक्षित गरी झन्डै १० वर्षदेखि सञ्चालनमा आएको रिलायन्स चिनी मिलले यसवर्ष भने रौतहटका किसानले लगाएको उखु पनि खरिद गर्ने जनाएको छ ।
बारामा मात्र यसवर्ष ३ हजार ५ सय ९३ जना किसानले ४२ सय ५६ विगाहामा उखु खेती गरेका छन् ।
रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिजका प्रोडक्सन म्यानेजर श्रीकृष्ण मण्डलले आगामी वैशाखको पहिलो सातासम्म करिब ३० लाख क्विन्टल उखु खरिद गरेर क्रसिङ गर्ने लक्ष्य राखेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्