Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


अब कसैले रोक्दैमा संसद गतिरोधमा रहन सक्दैन : देउवा


0
Shares

                                                                                                         फाइल फोटो
नेपाली कांग्रेस काभ्रे–१ अन्तर्गत् कोसीपारिका ९ गाविसले शनिबार आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानप्रति मधेसी समुदायको असन्तुष्टिलाई सम्बोधन गर्दै ल्याइएको संशोधन प्रस्ताव एमालेले संसद अवरुद्ध गरेर अगाडि बढ्न नदिएर संसदीय अभ्यास र प्रक्रियाकोसमेत अवमूल्यन गरेको बताए ।

उनले अब संशोधन प्रस्ताव पारित गरेरै छोड्नेसमेत दाबी गरे ।

सभापति देउवाले नयाँ संविधान जारी गर्न अगुवाइ गरेको कांग्रेसले तीनै तहको निर्वाचन गरेर संविधान कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।

‘अब कसैले रोक्दैमा र असहमति जनाउँदैमा संसद गतिरोधमा रहन सक्दैन’–उनले भने–‘समय थोरै छ, काम धेरै गर्नु छ, यो कांगे्रसले पूरा गर्छ, ढुक्क हुनुहोस् ।’

परराष्ट्रमन्त्री एवं नेपाली कांगे्रसका नेता डा. प्रकाशशरण महतले अन्तर्राष्ट्रिय सम्बन्ध सडकमा जुलुस गरेर बलियो बन्दैन भन्दै यो त कूटनीतिक पहलबाटमात्र सम्भव हुने बताए ।

मन्त्री महतले एमालेको सडक आन्दोलनले गर्दा विदेशी समुदायको नजरमा नेपालमा आफ्नो सुरक्षा नरहेको सन्देश जाने भएकाले थप समस्या हुने बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद बद्री पाण्डेले कम्युनिस्ट पार्टी सरकारबाट बाहिरिनेबित्तिकै खोक्रो राष्ट्रवाद प्रदर्शन गर्ने गरेकोे बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई, नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापति शिवप्रसाद हुमागाइँ, सांसद तीर्थ लामालगायतले मन्तव्य राखेका थिए ।

सभामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र अन्य पार्टीबाट करिब ५०० जना नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । रासस