Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


हिमपातले कर्णाली क्षेत्रको जनजीवन प्रभावित


0
Shares

शनिबार बिहानैदेखि बादलले आकाश पूर्णरुपमा ढाक्दा जुम्लालगायत कर्णाली क्षेत्रभरि निकै चिसो बढेको थियो । जुम्ला सदरमुकाममा रातिबाट हिमपात भए पनि यसको उच्च लेकहरु, हुम्ला, मुगु र डोल्पा जिल्लामा दिउँसो ४ः०० बजेबाट हिउँ पर्न सुरु भएको थियो ।

ती क्षेत्रमा करिब चारदेखि पाँच फिट हिमपात भएको अनुमान गरिएको छ । जुम्ला सदरमुकाममा भने ११ सेन्टिमिटर हिउँ परेको हावापानी फिल्ड कार्यालय, जुम्लाका कार्यालय प्रमुख एपी चौरासियाले जानकारी दिए ।

कार्यालय प्रमुख चौरासियाले भने– “हिजो दिनभरिको चिसोले न्यूनतम तापक्रम माइनस ४.१ डिग्री सेन्टिग्रेड थियो । सुरुमा पानी पर्‍यो र त्यसपछि मात्र हिमपात भयो ।

हिमपात हुँदा यहाँबाट बिहानै ५ः०० बजेदेखि छुट्ने लामो तथा छोटो दूरीका गाडी ठप्प भएका छन् । नागरिकलाई ओहोर दोहोर गर्न समस्या भएको छ । यसले गर्दा उनीहरुको दैनिक कार्य पनि प्रभावित बनेको छ ।

चिसोले गर्दा मेसिनरी सामग्री रेडियो, फ्याक्स, फोटोकपी, प्रिन्टर, छापाखाना मेसिनले काम गर्न छोडेका छन् भने धारामा आउने पानी, एलपी ग्यास जम्दा नागरिकको खानपिनमा समस्या भएको छ ।

अहिले केही समयदेखि हिमपात रोकिए पनि आकास बादलले नै छोपेको छ ।

गएको मङ्सिर ११ गते चोरिएर पुस १९ गते पत्ता लागेका जुम्ला चन्दननाथ मन्दिरका मूर्ति आज ११ः३० बजे सार्वजनिक गर्ने भनिएको तालिका हिमपातका कारण प्रभावित बन्ने प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।

प्रजिअ पण्डितका अनुसार चिसोले सरकारी तथा गैरसरकारी निकायको सेवा प्रवाह कठिन बन्ने र सेवाग्राहीलाई सेवा लिन अप्ठ्यारो हुने देखिन्छ । दिउँसो १/२ बजेबाट आकास खुल्ने र मौसम सफा हुने हावापानी फिल्ड कार्यालय, जुम्लाले जनाएको छ । रासस