ललितपुर महानगरले शुरु गर्‍यो महिलालाई छुट्टै क्वारेन्टिन « Image Khabar


ललितपुर महानगरले शुरु गर्‍यो महिलालाई छुट्टै क्वारेन्टिन


Imagekhabar
६ असार २०७७, शनिबार १३:३७

ललितपुर । ललितपुर महानगरपालिकाले विदेशबाट आएका महिलाहरुको लागि छुट्टै क्वारेन्टिन संचालन गरेको छ ।

महानगरको वडा नं २६ स्थित सुनाकोठीमा रहेको नेपाल युथ फाउण्डेसन अन्तर्गत रहेका पोषण पुनस्र्थापना गृहको दुई वटा भवनमा क्वारेन्टिन संचालन गरिएको हो ।

यी गृहमा कुपोषणले ग्रसित महिला र बालबालिका बसेका थिए । लकडाउन सुरु भएपछि उनीहरु केही घर गए भने केहीलाई अन्यत्रै सारिएको फाउन्डेसनले जनाएको छ ।

क्वारेन्टिन संचालनका लागि महानगरका प्रमुख चिरीबाबु महर्जन र फाउण्डेसनका प्रमुख कार्यकारी निर्देशक राजु धमलाले क्वारेन्टिन संचालन र व्यवस्थापन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले महिलाहरुको सुरक्षालाई ध्यान दिएर छुटटैै क्वारेन्टि संचालन गरेको बताए । उक्त क्वारेन्टिनमा हाललाई २४ शैय्याको छ ।

आवश्यकता अनुसार ठाउँ बढाउने महानगरले जनाएको छ । नेपाल युथ फाउण्डेसनका प्रमुख सोम पनेरुले मुलुकलाई संकट परेको बेला आफ्नो संस्थाको भवन प्रयोग गर्न पाउँदा खुशी लागेको बताए ।

महानगरले सहकार्यको प्रस्तावलाई स्वीकार गरेकोमा धन्यवाद दिए । पनेरुले आवश्यक पर्दा क्वारेन्टिनमा बस्ने महिलालाई मनोसामाजिक परामर्श दिइने बताए । उनले भने,‘ विभिन्न खालको ट्रमामा हुन सक्नुहुन्छ त्यसैले परामर्शको आवश्यकता पर्न सक्छ ।’

ललितपुर महानगरपालिका सामाजिक विकास समितिका संयोजक दिनेश कार्कीले लकडाउन खुकुलो भएसँगै चिन्ता थपिएको बताए ।

उनले विदेश गएका नेपालीहरु नेपाल फर्कर्ने क्रम बढेसँगै व्यवस्थापन महत्वपूर्ण भएको बताए । त्यसका लागि वडा पिच्छे होल्डिङ सेन्टर खोल्ने तयारी भएको बताए ।

महानगरले यसअघि नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्सभित्रको खेलाडीहरुको होस्टेलमा क्वारेन्टिन संचालन गरिसकेको छ ।

महानगरको र्‍यापिड रेस्पोन्स टिमका फोकल पर्सन देवी थापा गुरुङले महानगरले संचालन गरेको क्वारेन्टिन व्यवस्थित भएको बताइन्

प्रतिक्रिया दिनुहोस्