
प्रेस सेन्टर चितवनले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमाले अध्यक्ष केपी ओली र आफ्नो बीचमा एकखालको सहमती भएर नै प्रस्ताव टेबल गरिएको बताए ।
‘उहाँहरु (विपक्षी दल) ले विरोध गरिराख्ने, सरकारले प्रस्तावहरु टेबुल गर्ने भन्ने एकखालको सहमति भएकै हो,’ उनले भने, ‘हामीले एग्री टु डिसएग्री गर्यौं । यो अन्तर्राष्ट्रिय रुपमा नै प्रचलन भएको तरिका हो ।’
बाहिर सञ्चारमाध्यममा भनिएजस्तो जबर्जस्ती प्रस्ताव टेबल नभएको भन्दै उनले केपी ओलीसँग आफूले एक घन्टा कुराकानी गर्दा समझदारी बन्न नसकेपछि यो सहमति भएको बताए ।
प्रधानमन्त्री दाहालले भने, ‘हामीबीचमा प्रक्रिया अगाडि बढाउनेतिर जाऔँ र विषयमा छलफल गर्दै गरौँ भन्ने सहमतिसँगै प्रस्ताव टेबल गरिएको हो । त्यसमा झुक्याउने केही कुरा छैन ।’
एमाले अध्यक्ष ओलीसँग गम्भीर रुपमा कुराकानी भएको भन्दै उनले देशलाई समझदारीका साथ अगाडि बढाउन सबै दल मिल्नुको विकल्प नभएको बताए ।
अरु सबै विषयमा सहमति, सहकार्य गरेर निर्वाचनसम्म जाने विषयमा पनि कुराकानी भएको उनले बताए ।
गृहमन्त्री अर्को कार्यक्रममा व्यस्त भएकाले सभामुखले कानुन मन्त्रीलाई प्रस्ताव पेस गर्न भनेको पनि उनले बताए ।
दलहरुका बीचमा रहेको असहमति टुङ्गिने प्रक्रिया सुरु भएको उनको भनाइ थियो ।
अर्को फरक प्रश्नमा प्रधानमन्त्री दाहालले पहिले झैँ बीचैमा आफूले पद नछाड्ने बताए । आफू कति महिना प्रधानमन्त्री हुने भन्ने विषय नभएको उल्लेख गर्दै उनले भने, ‘महिनासँग यो सम्बन्धित छैन, कामसँग सम्बन्धित छ । तर म सहमतिभन्दा बाहिर जान्नँ ।’
आफू रिबन काट्नमात्रै नहिँडेको बताउँदै उनले भने, ‘मेलम्चीबाट सुरु गरेको यात्रा हिल्सा र किमाथान्कादेखि देशका चारवटै कुनामा पुगेको छु । दोधारा चाँदनीको सुख्खा बन्दरगाहादेखि झापाको धानको सुपरजोन बनियानी हुँदै ताप्लेजुङको पाथीभरासम्म गएको छु ।’ (रासस)
प्रतिक्रिया दिनुहोस्