संसदमा कसले–के भने ? (भिडियोसहित) « Image Khabar


संसदमा कसले–के भने ? (भिडियोसहित)


Imagekhabar
२५ पुष २०७३, सोमबार १५:५९

सरकारले संसद–सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गराएपछि नेकपा एमालेलगायतका ९ विपक्षी दलको निरन्तर अवरोधका कारण सुचारु हुन नसकेको संसद बैठक सोमबार भने नियमित कार्यसूचीमा प्रवेश गरेको हो ।

विपक्षी दलहरुको हो–हल्लाकैबीच सरकारले आइतबार संविधान संशोधन विधेयक संसदमा पेस गरेको थियो ।

विपक्षी दलले अवरोध नगरेपछि सोमबार सांसदहरुले समसामयिक राजनीति र जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने विषयमा संसदको ध्यानाकर्षण गराएका छन् ।

संसदको विशेष समयमा सांसदहरुले तत्काल संविधान कार्यान्वयन, निर्वाचनको मिति घोषणा गर्न तथा भूकम्पपीडितलाई पहिलो किस्ताको रकम दिन आग्रह गरे ।

कांग्रेस सांसद रामहरि खतिवडाले वर्तमान सरकारले भूकम्पपीडितलाई ४५ दिनभित्र पहिलो किस्ता दिने भनेको तर अहिलेसम्म पनि धेरै भूकम्पपीडितले उक्त रकम नपाएको भन्दै सरकारसँग जवाफ माग गरे ।

उनले भूकम्पपीडित भएपनि लाभग्राहीको सूचीमा रहेकाको गुनासो तत्काल सुनुवाइ गरी उनीहरुलाई रकम दिने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद चित्रबहादुर केसीले संघीयताको नाममा मुलुकलाई टुक्र्र्‍याउने खेल भएको भन्दै यसतर्फ बेलैमा सबै सचेत बन्नुपर्ने बताए ।

सांसद कुन्तीकुमारी शाही, भक्तबहादुर विश्वकर्मा खपांगीलगायतले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिनुपर्ने बताए ।

विश्वकर्माले नेपालको नोटहरुमा पृथ्वीनारायण शाहको तस्वीर राख्न माग गरे ।

विशेष समयमा सांसदहरु, अनन्तप्रसाद पौडेल, उमेशकुमार यादव, योगेन्द्र चौधरी, महेन्द्र यादव, शेरबहादुर तामाङ, भक्तबहादुर विश्वकर्मा खपांगीलगायतले समसामियक विषयमा धारणा राखेका थिए ।

बैठकले सरकारलाई संसदप्रति जवाफदेही बनाइ सर्वसाधारण जनतालाई सरकारको काम–कारबाहीको जानकारी प्रत्यक्षरुपमा गराउन ‘प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी आन्तरिक कार्यविधि–२०७३’ पनि अनुमोदन गरेको छ ।

भिडियो हेर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस्