संसदमा अब प्रधानमन्त्री र मन्त्रीहरुसँग सांसदले प्रत्यक्ष प्रश्न गर्न पाउने « Image Khabar


संसदमा अब प्रधानमन्त्री र मन्त्रीहरुसँग सांसदले प्रत्यक्ष प्रश्न गर्न पाउने


Imagekhabar
२५ पुष २०७३, सोमबार १६:१६

संसदको सोमबारको बैठकले अनुमोदन गरेको कार्यविधिअनुसार प्रधानमन्त्रीको कार्यक्षेत्रभित्र रहेका मन्त्रालय र प्रधानमन्त्रीसँग प्रत्यक्षरुपमा सम्बन्धित महत्वपूर्ण विषयका प्रश्न सोध्नका लागि सभामुखले साधारणतया प्रत्येक महिनाको दोस्रो आइतबार पहिलो दुई घन्टा निर्धारण गर्न सक्नेछन् ।

त्यस्तै, जरुरी र महत्वपूर्ण विषयका प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको दोस्रो र चौथो बुधबार साधारणतयाः पहिलो दुई घन्टा निर्धारण गर्न सक्नेछन् ।

यस कार्यविधिमा संसदमा सन्चालन हुने प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रमलाई नेपाल टेलिभिजनलगायत अन्य सन्चारकामाध्यमबाटसमेत प्रत्यक्ष प्रसारण गर्न सकिने उल्लेख छ ।

त्यस्तै, सोमबारको बैठकमा ‘राष्ट्रिय महिला आयोग विधेयक, २०७३ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित भएको छ ।

सो प्रस्ताव प्रधानमन्त्री एवं महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले पेस गरेका थिए ।

बैठकमा सभामुख ओनसरी घर्तीले राष्ट्रपतिको कार्यालयबाट विधेयक प्रमाणीकरणसम्बन्धी र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट राज्यमन्त्री नियुक्तिसम्बन्धी प्राप्त पत्र पढेर सुनाएकी थिइन् ।

सभामुखले कार्यव्यवस्था परामर्श समितिमा केही सदस्यहरुको नाम हेरफेर भएको जानकारी गराइन् । रासस

प्रतिक्रिया दिनुहोस्