२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


घूस आरोपीको रिहाइका लागि प्रधानन्यायाधीशको निर्देशन


0
Shares

ललितपुर जिल्ला अदालतका नायबसुब्बा श्याम अर्यालले घूस लिएको अवस्थामा अख्तियारबाट खटिएर गएको प्रहरीसहितको टोलीले शुक्रबार सप्रमाण समातेर हिरासतमा लिएको थियो । उनलाई सातदोबाटोस्थित ‘सेल्सवेरी डिपार्टमेन्टल स्टोर्स’ को पहिलो तलामा रहेको बाजेको सेकुवाबाट घूस रकमसहित समातिएको अख्तियारले उल्लेख गरेको छ ।

अख्तियार टोलीले अर्याललाई पक्राउ गरेको विषयमा सर्वोच्चका रजिस्ट्रार श्रीकान्त पौडेलले प्रधानन्यायाधीश कार्कीलाई जानकारी गराएपछि अधिकारक्षेत्रविपरीत अदालतका कर्मचारीलाई समातिएको भन्दै फिर्ता गराउन निर्देशनअनुसार पत्राचार गरिएको थियो ।

सर्वोच्चको उक्त पत्रपछि अर्याललाई अख्तियार हिरासतमुक्त गर्दै आइतबार अदालतका कर्मचारीको जिम्मा लगाइयो । अख्तियारका प्रवक्ता जीवराज कोइरालाले सर्वोच्चको मागअनुरूप अर्याललाई जिम्मा लगाइएको बताए । ‘त्यस्तो केही होइन, कानुनबमोजिम बुझाइएको हो,’ कोइरालाले भने ।

अख्तियारले इतिहासमै पहिलोपल्ट अदालतका कर्मचारीलाई ‘घूस’ रकमसहित समातेको थियो । छानबिनपछि मुद्दा चलाउने तयारीमा अख्तियार थियो । अख्तियार अधिकारीका अनुसार यो कारबाही पहिलो प्रयोग थियो ।

तर पहिलोपटकमै अख्तियारको कदम विफल भएको छ । अख्तियारले समातेका कर्मचारीलाई फिर्ता ल्याएको विषयलाई न्याय क्षेत्रमा दण्डहीनतासँग जोडेर हेरिएको छ ।

सरकारका मुख्य कानुनी सल्लाहकार रहेका महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले घूस रकममा प्रमाणसहित समातिएका अदालतका कर्मचारीलाई अख्तियारको हिरासतबाट निकाल्न नमिल्ने बताए । ‘अदालतका कर्मचारी भन्दैमा हिरासतबाट त्यसरी छाड्नै मिल्दैन । अख्तियार ऐनअनुसार छानबिनपछि कारबाही गर्न अख्तियारलाई अधिकार छ,’ श्रेष्ठले भने, ‘निजामती कर्मचारी भएकाले अख्तियारले थुनामा राखेर छानबिन गरी कारबाही चलाउन सक्छ । छुटाएर ल्याउने कार्य गलत हो ।’ –अन्नपूर्ण पोस्ट दैनिकबाट