गोरुजुधाइको इतिहास थाहा छ ? राजा खुसी पार्न यसरी सुरु गरियो परम्परा « Image Khabar


गोरुजुधाइको इतिहास थाहा छ ? राजा खुसी पार्न यसरी सुरु गरियो परम्परा


Imagekhabar
३ माघ २०७३, सोमबार १५:२५

तारुकावासीले मंसिर महिनामा बाली भित्र्याइसकेपछि बाली बुझ्न आउनेक्रममा वि.संं १८८७ मा बझांगी राजा विक्रमबहादुर सिंहका छोरा जयपृथ्वीबहादुर सिंहलाई मनोरन्जन प्रदान गर्न तारुकावासीले यो परम्परा सुरु गरेको इतिहास रहेको तारुका–५ स्थानीयवासी ७८ वर्षीय धनबहादुर प्रधानले जानकारी दिए ।

हालको तारुका, बुधसिंह र खाल्टे गाविस तत्कालीन अवस्थामा बझांगी राजाको बिर्ता रहेको स्थानीयवासीको भनाइ छ ।

त्यतिबेला मनोरन्जनका अन्य साधन नभएकाले गोरु जुधाएर राजाका छोरालाई मनोरन्जन प्रदान गरिएको हुनसक्ने उनको कथन थियो ।

यही परम्परालाई कामय राख्नै तारुकावासीले प्रत्यके वर्ष माघेसंक्रान्तिका दिन गोरु जुधाउने परम्परालाई निरन्तरता दिँदै आएका छन् ।

यो परम्परा सुरु भएपछिको करिब १७३ वर्ष यसले खासै चर्चा पउन सकेन, स्थानीयस्तरमै सीमित रहँदै आयो । केही बेलाअघिसम्म स्थानीयवासीले छुट्टाछुट्टै समूहमा तारुकाको टोलटोलमा गोरु जुधाउने गर्दैआएका थिए ।

करिब १७३ वर्षसम्म तारुका वडा नम्बर–२ को आँपचौरको पाटो, वडा नम्बर–३ को गैरीगाउँको पाटो, वडा नम्बर–५ को कटरबोटको पाटो र वडा नम्बर–६ को नरकोटे पाटोमा गोरुहरू जुधाइन्थ्यो ।

टोलैपिच्छे गोरु जुधाउने परम्पराले चर्चा पाउन नसकेपछि स्थानीय युवा मिलेर विगत १२ वर्षदेखि गोरुजुधाइलाई एकीकृत बनाएर तारुका–५ स्थित चन्दनीको कटहरबोटको पाटोमा सुरु गरिएपछि यसको चर्चा चारैतिर हुनथालेको छ भने उक्त मेलाको समाचार संकलनका लागि विदेशी सन्चारमाध्यमका प्रतिनिधिसमेत चन्दनीको कटहरबोट पुग्ने गरेका छन् ।

तारुका–६ का स्थानीयवासी नवीन अधिकारीकाअनुसार विगत १२ वर्षदेखि यसलाई स्थानीय युवा मिलेर भव्य र सभ्य तरिकाले तारुकाको साँस्कृतिक पर्वकारुपमा अघि बढाएपछि यसको चर्चा चुलिँदै गएको हो ।

अहिले यहाँका गाउँबाहिर रहेका व्यक्ति दसैं–तिहारमा घर नआएपनि योबेला घर आउने गरेका छन् ।

१२ वर्षदेखि यो पर्व मनाउन प्रमुख राजनीतिक दलले चक्रीय प्रणाली अपनाएका छन् । मेला सन्चनाल गर्ने विषयमा स्थानीयवासीबीच मनमुटाव बढ्दै गएपछि चक्रीय प्रणालीमा मेला सुरु गर्न थालिएको उनले जानकारी दिए ।

चक्रीय प्रणालीअनुसार मेलाको नेतृत्व एक वर्ष एउटा दलले र अर्को वर्ष अर्को दलले गर्ने सहमतिअनुरुप आयोजना भइआएको छ ।

हाल तारुकामा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मेलालाई नेपाल पर्यटन बोर्डलेसमेत सहयोग उपलब्ध गराउँदै आएको स्थानीय विष्णु तारुकेले जानकारी दिए ।

मेलामा अहिले नुवाकोट आसपासका धादिङ, रसुवा, चितवन, कास्की, काठमाडौंलगायतबाट हजारौं दर्शक आउने गर्दछन् ।

यसपटक मेलामा आफ्नो गोरु जुधाउन चाहने कृषकले पुस २३ गतेभित्रै गोरुको दर्ता गरिसक्नुपर्ने कार्यतालिका रहेको थियो ।

उक्त अवधिमा १८ हल गोरु दर्ताका लागि आएका थिए । गोरु छिमेकी जिल्ला धादिङको खाल्टे र कल्लेरी गाविसबाटसमेत ल्याइएका थिए ।

मेलालाई थप आकर्षक बनाउन किसानले गोरुको नामसमेत तोक्ने गरेका छन् ।

यस वर्ष तारुका–२ का रोमन श्रेष्ठको काले, अम्बर तामाङको विच्छे, तारुका–७ का सुरेश भण्डारीको गजे, दिवश न्यौपानेको लाले, धादिङ खाल्टे–६ का विमल थापामगरको मिल्के, तारुका–७ का अर्जुन भण्डारीको फुर्के, तारुका–२ का रामजी अधिकारीको राजा, तारुका–५ का नरबहादुर मजकोटीको तारेलगायतबीच भिडन्त भएको थियो ।

सबैभन्दा रोचक भिडन्त भने रामजी अधिकारीको राजा र तारेबीच भएको थियो । भिडन्त ३८ मिनेट चलेको थियो जसमा राजाले बाजी मार्‍यो । मेलामा तीनदेखि सात वर्षसम्मका गोरु जुधाइएको थियो ।

गोरुजुधाइ मेलामा जित्ने गोरुका धनीलाई प्रमाणपत्र, रु एक हजार र सहभागी गोरुलाई पाँच सय र प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा काठमाडौंबाट मेला हेर्न आउनेको ठूलो संख्यामा उपस्थिति थियो भने सन्चारकर्मी र पर्यटन व्यवसायीहरूको पनि उल्लेख सहभागिता थियो ।

यस्तै, गोरु पाल्ने किसानलाई अन्नपात तथा अन्डालगायतका दानासहित दुर्घटना बीमासमेतको व्यवस्था गरिएको मेला आयोजक समितिका सचिव होमनाथ सिग्देलले जानकारी दिए ।

गोरु दर्ता, बीमा, मेला व्यवस्थापन लगायतका कार्यका लागि ९ सदस्यीय अर्को उपसमितिसमेत गठन गरिएको थियो ।

गोरु जुधाउनेक्रममा मरिहाल्यो भने रु ३० हजारसम्मको बीमा व्यवस्था गरिएको थियो ।

नुवाकोट, रसुवा तथा धादिङका किसानले माघेसंक्रान्तिमा जुधाउन असार, साउनदेखि नै गोरुलाई विशेष हेरचाहका साथ पाल्ने गर्छन् ।

गोरुजुधाइ स्पेनको ‘बुल फाइट’भन्दा कम नभएको भन्दै यसको समयमै व्यापक प्रचार–प्रसार हुनुपर्ने स्थानीयवासीको भनाइ छ ।

पूर्वाधार विकासमा जोड
मेलामार्फत् स्थानीयवासीले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका साथै तारुकाको पूर्वाधार विकासमा जोड दिइआएका छन् ।

तारुकासम्म पुग्न अहिले तारुकाघाटबाट करिब सात किलोमिटर जोखिमपूर्ण कच्चीबाटो जानुपर्ने बाध्यता छ र उक्त बाटोको स्तरोन्नतिका लागि स्थानीयवासीले माग गर्दै आएका छन् ।

स्थानीय शिव अधिकारी भन्छन्–‘सरकारले तारुकाघाटमा पक्कीपुल र सात किलोमिटर मोटरबाटोलाई स्तरोन्नति गरिदिए मेलाको रौनक र पर्यटकको संख्या अहिलेकोभन्दा दोब्बर बढ्थ्यो ।’

उनकाअनुसार बर्सेनि कुनै न कुनै राजनीतिक दलका नेतालाई मेलाका प्रमुख अतिथिकारुपमा लैजाने र यहाँको समस्याकाबारेमा अवगत गराउने काम हुनुपर्ने हो । अहिलेसम्म यस दिशामा खासै ध्यान पुग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्