न्यायाधीश सिफारिसप्रति सरकारी वकिलहरुको आपत्ति, देशभर बहस बहिस्कार गर्ने निर्णय « Image Khabar


न्यायाधीश सिफारिसप्रति सरकारी वकिलहरुको आपत्ति, देशभर बहस बहिस्कार गर्ने निर्णय


Imagekhabar
३ माघ २०७३, सोमबार १७:३८

महान्यायाधीवक्ताको कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरी सरकारी वकिल समाजले सरकारी वकिलहरुलाई किनारा लगाउँदै न्यायाधीश नियुक्तिको सिफारिस गरिएको भन्दै आपत्ति जनाइएको हो ।

न्यायालयको अभिभावक मानिने प्रधानन्यायाधीशको नेतृत्वमा रहेको न्यायपरिषद्ले सरकारी वकिल र महान्यायाधीवक्ता कार्यालयका कर्मचारीलाई पूरै बेवास्ता गर्दै राजनीतिक भागबन्डाको आधारमा न्यायाधीश छनोट गरिएको आरोपसमेत उनीहरुले लगाएका छन् ।

यस्तो रवैयाबाट स्वतन्त्र न्याय पालिकाको मर्ममाथि गम्भीर ठेस पुगेको र सरकारी वकिलहरुको मान–मर्दन भएको जिकिर पनि उनीहरुले गरेका छन् ।

बहस बहिस्कार गर्ने निर्णय
यसैबीच, महान्यायाधीवक्ताको कार्यालयमा रहेका चारओटा ट्रेड युनियनले संयुक्त वक्तव्य जारी गर्दै आगामी माघ ९ गतेदेखि सर्वोच्च अदालतलगायत देशभरका सबै तहका अदालत र न्यायाधीकरणमा सरकारी वकिलहरुको तर्फबाट हुने बहस बहिस्कार गर्ने निर्णय गरेका छन् ।

न्यायपरिषद् तथा अदालतविरुद्ध परको रिटउपर प्रतिरक्षा नगर्ने घोषणा पनि उनीहरुले गरेका छन् ।

आगामी दिनहरुमा न्यायपरिषद्बाट गरिने नियुक्तिहरु निश्चित मापदन्ड, समानुपातिक, पारदर्शी र निष्पक्षरुपमा गर्न मागसमेत ट्रेड युनियनहरुले गरेका छन् ।

सो अवसरमा महान्यायाधीवक्ता रमण श्रेष्ठले सरकारी वकिलहरुको माग र संघर्षमा आफ्नो पूर्णसमर्थन रहेको बताए ।

गत पुस २८ गते मध्यराति न्यायपरिषद्ले ८० जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।

उक्त सिफारिसमा एकजनामात्र सरकारी वकिलको नाम परेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्