नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न युएइलाई आग्रह « Image Khabar


नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न युएइलाई आग्रह


Imagekhabar
३ माघ २०७३, सोमबार १८:४९

युएईको राजधानी अबुधाबीस्थित ऊर्जा मन्त्रालयमा सोमबार भएको भेटवार्तामा नेपालमा जल ऊर्जा उत्पादनका क्षेत्रमा लगानी गर्न मन्त्री शर्माले आग्रह गरेको त्यहाँस्थित नेपाली राजदूतावासका सहचारी केशवराज पोख्रेलले जानकारी दिए ।

‘वर्ल्ड फ्युचर इनर्जी समिट २०१७’ (विश्व भविष्य ऊर्जा शिखर सम्मेलन) मा भाग लिन युएई पुगेका मन्त्री शर्माले कम्तीमा आगामी सय वर्षसम्मका लागि नेपालमा जलविद्युत् विकासको राम्रो सम्भावना रहेकाले त्यसमा लगानी गर्न युएई सरकारलाई अनुरोध गरे ।

युएईका ऊर्जामन्त्री मजौरीले नेपालमा जलविद्युत्, कृषि र पर्यटनमा लगानी गर्न आफूहरु पनि इच्छुक रहेको स्पस्ट गर्दै दिगो ऊर्जा विकासका लागि जलविद्युत् र सौर्यऊर्जालाई एकीकृत गरेर अघि बढाउन नेपाललाई सुझाव दिए ।

शिखर सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र ऊर्जामन्त्री शर्माले भाग लिइरहेका छन् ।

सम्मेलनमा सन् २०५० सम्ममा बायोग्यास र सौर्यऊर्जाको उत्पादन बढाएर ९० प्रतिशत पुर्‍याउने र अन्य परम्परागत् ऊर्जालाई १० प्रतिशतमा सीमित पार्ने लक्ष्य कार्यान्वयनका विषयमा गहन छलफल गर्ने कार्यक्रम छ ।

एक सातासम्म चल्ने सम्मेलनमा १५० राष्ट्रका प्रमुख, सरकार प्रमुख तथा मन्त्रीले भाग लिएका छन् ।

यसैबीच, ऊर्जामन्त्री शर्मा अवुधाबीस्थित नेपाली राजदूतावास, नेपाली जनप्रगतिशील मन्च युएई र नेपाली बिजनेस काउन्सिलले आयोजना गरेका विभिन्न कार्यक्रममा सरिक भएको उनका स्वकीय सचिव वसन्तराज शर्माले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्