
-रविन भट्टराई, ईमेज
ताप्लेजुङमा यस वर्ष सुन्तला उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । सुन्तलाको फूल फुल्ने समयमा असिना नपरेको र कृषकले बगानलाई विशेष ध्यान दिएका कारण उत्पादन वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका प्रमुख रविन्द्रबहादुर प्रधानले बताए ।
प्रत्येक वर्ष उत्पादनमा वृद्धि भए पनि सुन्तलाले बजार भने नपाएको गुनासो कृषकहरुले गरेका छन् ।
कृषकले धेरै लगानी गरी उत्पादन बढाए पनि सुन्तला खरिद गर्ने ठेकेदार बगानमा नआउँदा सुन्तला टिप्ने समय घर्की सक्दासमेत बोटमै रहेको ताप्लेजुङ नगरपालिकाका कृषक कृष्णप्रसाद बराल बताए ।
अघिल्ला वर्षहरुमा ताप्लेजुङमा उत्पादित सुन्तला खरिदका लागि पाँचथर, इलाम र झापाबाट व्यापारीहरु गाउँगाउँमा पुग्ने गरेका थिए ।
तर यस वर्ष ताप्लेजुङको भन्दा अन्य जिल्लामा उत्पादिन सुन्तला सस्तोमा पाएपछि व्यापारीहरु त्यहाँ नपुगेको बताइएको छ ।
किसानले सुन्तलाको बजार नहुँदा समस्या परेको गुनासो गरिरहे पनि जिल्ला कृषि विकास कार्यालयले भने ताप्लेजुङमै पर्याप्त बजार रहेको दाबी गर्दै आएको छ ।
कृषकले सुन्तलाको मुल्य समायोजन गर्न नसक्दा बिक्रीमा समस्या भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख रविन्द्रबहादुर प्रधान बताउँछन ।
प्रतिक्रिया दिनुहोस्