२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


ट्रम्प र पुटिन सम्बन्ध बारे टिप्पणीः‘आरोप लगाउनु वेश्यावृत्तिभन्दा खराब’


0
Shares

राजनीतिमा आउनु पूर्व नै ट्रम्पबारे निगरानी गर्नुपर्ने कुनै कारण नरहेको भन्दै पुटिनले आपत्तिजनक जानकारी रहेको भनि आफूहरुमाथि आरोप लगाउनु वेश्यावृत्तिभन्दा खराब रहेको टिप्पणी गरे ।

अमेरिकी गुप्तचर विभागले गत हप्ता रुसले अमेरिकी राष्ट्रपति चुनावमा प्रभावित पार्न खोजेको र ट्रम्पको व्यक्तिगत जिन्दगीका बारेमा रुससँग गोप्य र आपत्तिजनक डिभियोसहितका जानकारी रहेको दावी गरेको थियो ।

सन् २०१३ मा मस्कोमा भएको मिस युनिभर्समा गएका ट्रम्प त्यहाँको रिट्ज कारल्टन होटलमा एक यौनकर्मी महिलासँग बसेको र त्यसबेलाको भिडियो रुससँग रहेको दावी खबरहरुमा गरिएको छ ।

उता, युरोपमा भने ट्रम्पको कडा आलोचना भएको छ । बेलायतले युरोपेली संघ त्याग्न गरेको निर्णयको प्रशंसा गर्दै ट्रम्पले अरु देशले पनि युरोपेली संघ त्याग्नुपर्ने भनि बेलायती र जर्मन पत्रिकालाई अन्तवार्ता दिएकामा आलोचना गरिएको हो ।

बेलायतले ईयू छाडेपछि अमेरिकासँग व्यापारिक साझेदारीमा नयाँ आयाम थप्न सक्ने ट्रम्पको विश्वास छ । शरणार्थीलाई शरण दिने जर्मन चान्सलर एन्जेला मर्केलको निर्णयप्रति आलोचना गर्दै ट्रम्पले ठूलो संख्यामा शरणार्थीलाई जर्मन प्रवेश दिएपछि सुरक्षा चुनौति बढेको जिकीर गरे ।

ट्रम्पका यी भनाइप्रति युरोपेली शक्ति राष्ट्र जर्मनी र फ्रान्सले कडा आलोचना गरेको हो । जर्मन चान्सलर मर्केलले युरोपेलीको भाग्य आफ्नै हातमा रहेको भन्दै युरोपको बलियो एकता नै ट्रम्पलाई गतिलो जबाफ हुने प्रतिक्रिया दिइन् ।

फ्रान्सेली राष्ट्रपति फ्रास्वाँ ओल्याण्डले युरोप आफ्नो मूल्यमान्यताबाट निर्देशित हुने भन्दै आफ्नो बाटो तय गर्न बाहिरिया उपदेशको आवश्यकता नरहेको टिप्पणी गरे । (एजेन्सी)