काठमाडौं, फागुन २९ । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकमा खाता खोल्दा उपलब्ध गराएको वैयक्तिक विवरण नेपालभित्र नै सुरक्षित रहेको भन्दै सांसदहरुलाई विश्वस्त हुन आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले कुनैपनि खातावालाको विवरण बाहिर नजाने भन्दै अदालत र राष्ट्र बैंकलेमात्र आवश्यक परेको खन्डमा हेर्न पाउने बताए ।
सांसदहरुले विदेशी लगानीमा रहेका बैंकबाट विवरण ‘लिक’ हुने आंशका व्यक्त गरेका थिए ।
सांसदहरुका प्रश्नको जवाफ दिँदै उनले खातावालाको विवरण मुलुकभित्रमात्र रहने भन्दै गोपनीयपनि हुने बताए ।
मुलुकमा सरकारी र निजी क्षेत्रका गरी दुईखाले बैंक रहेपनि ती सबै नेपाली बैंक नै रहेको भन्दै उनले सरकारले सबै बैंकलाई समान व्यवहार गर्नुपर्ने बताए ।
मन्त्री खतिवडाले चालू आर्थिक वर्षभित्रै मुलुकका सबै स्थानीय तहमा बैंकको सेवा पुर्याइने बताए ।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मानव र वन्यजस्तु बासस्थानबीच देखिँदै आएको द्वन्द्व व्यवस्थापन गर्न सरकार समग्र योजना निर्माणमा जुटिरहेको बताए ।
सांसदहरुका प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले आगामी दिनमा झापा र बर्दियालगायत जिल्लामा हात्ती आक्रमणका घटना न्यूनीकरणका लागि ठीक ढंगबाट व्यवस्थापन गरिने बताए ।
बुधबारको बैठकमा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयकसम्बन्धी समितिको प्रतिवेदन र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले प्रदेश लोकसेवा आयोग विधेयकसम्बन्धी समितिको प्रतिवेदन सदनमा पेस गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्