
उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले बुधबार उक्त कार्ययोजना सार्वजनिक गरेका हुन् । मन्त्रालय सम्हालेको ६ महिनामा बल्ल कार्ययोजना सार्वजनिक गरिएको हो ।
कार्ययोजनाको तयारी अगाडिदेखि नै भएपनि सबै सरोकारवाला निकायका अधिकारीहरुसँग परामर्श र छलफल गरी पूर्णरुप दिनखोज्दा केही ढिला भएको अर्थमन्त्री महराले उल्लेख गरे ।
तथापी यसअनुसार कार्यान्वयन भने सुुरु भैसकेको पनि उनले जानकारी गराए ।
‘समृद्ध नेपालको आधार समृद्ध गाउँ/नगर, समृद्ध गाउँ/नगरको आधार समृद्ध समाज’ भन्ने मूल नाराका साथ ल्याइएको कार्ययोजनामा अरु पनि थुपै्र नारा तय गरिएको छ ।
‘अबको विकासको आर्थिक कार्यसूची नै संविधान एवं संघीयताको कार्यान्वयन र समृद्ध नेपालको दिगो आर्थिक विकास बनाउनुपर्ने हुन्छ । यसकै लागि उक्त नारासाथ मुलुकको आर्थिक सामाजिक रुपान्तरणका लागि समृद्ध नेपालको सोच प्रस्तुत् गरेको’ अर्थमन्त्री महराले उल्लेख गरे ।
अर्थतन्त्रका पछिल्ला सूचक सकारात्मक रहेको भन्दै मन्त्री महराले पुँजीगत खर्च परिचालन नै अहिलेको प्रमुख चुनौती रहेको उल्लेख गरे ।
छिटो बजेट आउँदा पनि खर्च बढ्न नसक्नु चिन्ताजनक भएको उनले उल्लेख गरे । यसका लागि ताकेता भइरहेको र फागुनसम्म खर्च नगर्ने आयोजनाहरुको बजेट रोक्का गरी अन्यत्र परिचालन गरिने मन्त्री महराको भनाइ छ ।
पुँजीगत खर्च बढाउनसके बजारमा देखिएको तरलताको समस्यासमेत समाधान हुने भन्दै मन्त्री महराले यसका लागि कानुनी, नीतिगत, प्रक्रियागत सबै सुधार गर्न सरकार तयार रहेको बताए ।
अर्थमन्त्री महराले केही सन्चारमाध्यमले मलेसिया भ्रमण, सुन तस्करी, कर फस्र्यौट आयोग गठनको माग, एनसेललाई कर छुटलगायतका विषयमा आफ्नाविरुद्ध ‘मनगढन्ते समाचार लेखिएको’ भन्दै खन्डन पनि गरेका थिए ।
एनसेलले कर तिर्नुपर्ने निर्क्यौल भए एक पैसा पनि नछाडिने पनि अर्थमन्त्री महराले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्