
काठमाडौं, असार २२ । पाकिस्तानको भ्रष्टाचारविरोधी एक अदालतले त्यहाँका पूर्वप्रधानमन्त्री नवाज सरिफ र उनकी छोरी मरियम नवाजलाई भ्रष्टाचारी ठहर गरेको छ ।
शुक्रबार अदालतले नवाफ सरिफलाई १० वर्ष र मरियमलाई ७ वर्षको जेल सजाय हुने फैसलासमेत गरेको छ ।
यस्तै, मरियम नवाजका पति सफदरलाई पनि भ्रष्टाचारी ठहर गर्दै एक वर्षको जेल सजाय सुनाइएको छ ।
नवाज सरिफ र मरियमबाट क्रमशः ८० लाख पाउन्ड र २० लाख पाउन्ड जरिवाना असुल गर्न पनि अदालतले आदेश दिएको छ ।
पाकिस्तानमा आगामी २५ जुलाईमा हुन लागेको चुनावमा मरियम नवाज लाहोरबाट उम्मेदवार बनेकी छन् । अदालतको फैसलासँगै उनी चुनावी मैदानबाट स्वतः बाहिरिएकी छन् ।
उनीहरुविरुद्ध लन्डनमा सुविधासम्पन्न चारओटा अपार्टमेन्ट खरिदसम्बन्धी प्रकरणमा मुद्दा दायर गरिएको थियो । ९ महिनासम्म चलेको बहसपछि अदालतको यो फैसला आएको हो ।
नवाज सरिफले आफूविरुद्धको फैसला कार्यान्वयनलाई सात दिन पर सार्न अपिल गरेकामा अदालतले अस्वीकार गरेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्