
सन् १९६६ मा स्थापित एडीबीले आफ्नो स्थापनाकालदेखि नै नेपालको समावेशी एवं दिगो आर्थिक विकासको लक्ष्यलाई सघाउँदै आएको छ ।
एडीबी र नेपालको साझेदारीको ५० वर्ष पुगेको अवसरमा राजधानीमा एडीबीले साझेदारी झल्काउने फोटो प्रदर्शनी आयोजना गरेको छ ।
बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजित प्रदर्शनीको विहीबार अर्थसचिव शान्तराज सुवेदी र एडीबी नेपाल निर्देशक केनिचियोकोयामाले संयुक्तरुपमा उद्घाटन गरे ।
सन् १९६९ मा हवाई यातायात विकास आयोजनाको निम्ति ६० लाख डलरबाट नेपाललाई सहयोग गर्न सुरु गरेको एडीबीले अहिलेसम्म आइपुग्दा ५ सय करोड डलरको सुविधापूर्ण ऋण तथा अनुदान उपलब्ध गराइसकेको जनाइएको छ ।
एडीबीको सहयोगले नेपालमा सडक सन्जाल, शिक्षा, उर्जा, सहरी पूर्वाधार, कृषि, वित्त, सार्वजनिक व्यवस्थापन, लैगिक समानता तथा सामाजिक समावेशीकरणको विकास र सवलीकरणमा योगदान पुगेको जनाइएको छ ।
विषम राजनीतिक परिस्थितिदेखि विनाशकारी भूकम्पजस्ता प्राकृतिक प्रकोपमासमेत निरन्तररुपमा सहयोग गर्दै आएको एडीबी नेपालको एक बलियो विकास साझेदार हो ।
हाल नेपालमा ३२ ओटा आयोजना र कार्यक्रममार्फत् एडीबीको १ अर्ब ७१ करोड डलर बराबरको सक्रिय सहयोग रहेको एडीबीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्