नेपाल चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुर : प्रधानमन्त्री « Image Khabar


नेपाल चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुर : प्रधानमन्त्री


Imagekhabar
६ माघ २०७३, बिहीबार २०:२१

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा नेपालको प्रहरी संगठनको सुदृढीकरणमा इन्टरपोलले गरेको सहयोगप्रति प्रधानमन्त्रीले होङ्वेलाई धन्यवाद दिए ।

चीनका उपमन्त्रीसमेत रहेका अध्यक्ष होङवेसँगको भेटमा प्रधानमन्त्रीले भने–‘नेपाल र चीन पुराना असल छिमेकी हुन् । हाम्रो सम्बन्धलाई थप मजबुत बनाएर हामी नेपाल र चीनबीच सडक, रेल र हवाई ‘कनेक्टिभिटी’ बढाउन चाहन्छौं ।’

भेटमा प्रधानमन्त्रीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै भने–‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ । हामी चीन र तिब्बतविरुद्ध नेपाली भूमि प्रयोग हुन दिने छैनौं । हिजो, आज र भोलि पनि नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहने कुरा विश्वास दिलाउन चाहन्छु ।’

प्रधानमन्त्रीले नेपाल चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुर रहेको बताउँदै भारतको गोवा भ्रमणकाक्रममा त्रिदेशीय रणनीतिक साझेदारी र व्यापारिक सम्बन्धबारे आफू, चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच निकै सकारात्मक छलफल भएको स्मरण गराए ।

भेटकाक्रममा इन्टरपोलका अध्यक्ष होङवेले नेपाल प्रहरी सुदृढ र व्यावसायिक प्रहरी संगठन रहेको बताउँदै नेपाल प्रहरीलाई थप सबल बनाउन इन्टरपोलको तर्फबाट सदैब सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

होङवेले नेपालको एक चीन नीतिप्रति धन्यवाद व्यक्त गर्दै फ्रान्समा रहेको इन्टरपोलको मुख्यालय भ्रमण गर्न प्रधानमन्त्रीलाई निमन्त्रणा गरे ।

होङवेले आफू इन्टरपोलको अध्यक्षमा निर्वाचित हुँदा नेपालले गरेको समर्थन र सहयोगप्रति धन्यवाद दिए ।

बुधबारबाट काठमाडौंमा भइरहेको इन्टरपोलको २३औं एसिया क्षेत्रीय सम्मेलनमा भाग लिन अध्यक्ष होङवे काठमाडौंमा छन् ।

शुक्रबारसम्म चल्ने सम्मेलनमा ३६ राष्ट्रका कानुन कार्यान्वयन गर्ने अधिकारीको प्रतिनिधित्व भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्