
विहिबार राति श्रीमानले लगाएको आगोबाट ५० प्रतिशतभन्दा बढी जलेर गम्भीर घाइते अनिसालाइ थप उपचारका लागि राजधानी लैजानका लागि चिकित्सकले सुझाव दिए पनि आर्थिक अभावका कारण अहिलेसम्म अन्यत्र रिफर गर्न नसकिएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक राजन गौतमले जानकारी दिए ।
“छुट्टिएर बसेकी सासुले बुहारीलाई कुरिरहेकी छिन्,” प्रहरी निरीक्षक राजन गौतमले भने, “घटनाका विषयमा महिला तथा बालबालिका कार्यालय, बाँकेकी महिला विकास अधिकृतलाई जानकारी गराए पनि अनिसाको थप उपचारका लागि अन्यन्त्र लैजाने विषयमा कहीँ कतैबाट अहिलेसम्म चासो देखिएन ।”
आगलागीबाट अनिसाको स्तन, मुख र टाउको जलेको छ । बिरामीको घाँटी भित्रैसम्म आगोका कारण असर परेको छ उपचारमा संलग्न भेरी अञ्चल अस्पतालका वरिष्ठ सर्जन डा रुपानन्द अधिकारीले भने, “५० प्रतिशत भाग जलिसकेको छ, घाँटी सुन्निएका कारण जति सक्यो चाँडो टिचिङ हस्पिटल (काठमाडौं) मा लग्न सक्यो त्यति राम्रोसँग उपचार हुनसक्छ ।”
शरीरमा आगो लागेको २१ घन्टा बितिसक्दा समेत थप उपचारका लागि बाहिर लैजान नसक्दा उनको स्वास्थ्य अवस्था झनै बिग्रन थालेको छ ।
गम्भीर घाइते अनिसाकी डेढ वर्षकी छोरी काखमा च्याप्दै अनिसाकी सासुले भनिन् “बाहिर उपचार गर्नका लागि हामीसँग पैसा छैन, कसैले सहयोग गरिदिए मेरी बुहारी बाँच्ने थिइन् ।”
जलेर गम्भीर घाइते भएकी उनको उपचारमा महिला तथा बालबालिका कार्यालयले चासो नदिएको पाइएको छ । यस विषयमा बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले रासससँग कुरा गर्दै भने “आगोले जलेर गम्भीर घाइते भएकी अनिसाको उपचारका लागि महिला तथा बालबालिका कार्यालय बाँकेलाई मैले निर्देशन दिइसकेको छु, उहाँहरुबाट तत्काल के गर्न सकिन्छ त्यो गर्ने र केन्द्रसँगको सहकार्यमा थप काम गर्ने भन्ने कुरा आएको छ, गर्दै हुनुहुन्छ ।”
भेरी अञ्चल अस्पतालमा उपचार गराइरहेकी अनिसालाई चिकित्सकले यसअघि नै टिचिङ हस्पिटल, काठमाडौँ लैजान सुझाव दिएका थिए ।
नेपालगन्ज उपमहानगरपालिका–१२ बाँकेगाउँस्थित खटिकको बसोबास रहेको खट्नपुरुवाका करिब २५ वर्षीय राजेन्द्र खटिकले आफ्नै २२ वर्षीया श्रीमती अनिसा खटिकलाई टुकीमा रहेको मट्टितेल खन्याइ आगो लगाइ मार्ने प्रयास गरेका थिए ।
श्रीमतीलाई आगो लगाउने राजेन्द्र फरार रहेकाले उनको खोजी कार्य भइरहेको वडा प्रहरी कार्यालय, नेपालगन्जले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्