५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


चलचित्र ‘जानी नजानी’मा प्रेमको बेग्लै ब्याख्या, चैत्र १ गतेबाट देशभर प्रदर्शन


0
Shares

काठमाडौं । माया–प्रेम, विछोड र जिम्मेवारीको कथामा आधार रहेर तयार भएको चलचित्र ‘जानी नजानी’ चैत्र १ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ ।

प्रेम र जीवनको सौन्दर्य साथै प्रेमको शक्तिले मानिसलाई सफलतातर्फ डोहोर्‍याएको कथालाई समेटेर निर्देशक बसन्त अधिकारीले चलचित्र तयार पारेका छन् ।

चलचित्रमा मनिष श्रेष्ठ, निरिषा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसीको मुख्य भूमिका छ ।

चिन्तन,साधना र लेखनमा क्रियासिल पुराना पत्रकार मोदनाथ खनालको मुख्य लगानी रहेको चलचित्र रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्माण गरिएको हो । यसमा  सागर काजी मालीले पनि निर्माणमा सहयोग गरेका छन् ।

चलचित्रको कथा, पटकथा तथा संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । संगीत अर्जुन पोखरेलले दिएका छन् भने सञ्जय लामाको छायाँकन, कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी तथा अर्जुन जिसीको सम्पादन रहेको छ ।

चलचित्रमा जिम्मेवारीबाट पन्छिएको एक धनाढ्य बाबुको छोरालाई यूवतीले कसरी जिम्मेवारी बहन गर्न सिकाउँछिन् भन्ने देखाइएको छ ।

चलचित्रमा पहिलो पटक लगानी गरेका मोदनाथ खनाल यसबाट आफूले सफलता प्राप्त गर्नेमा विश्वस्त छन् ।

मान्छेको जीवन नै नजानीकन सुरु हुने भएकाले  नजानीकन नै लगानी गरेर सफलता पाउने उनको दाबी छ ।

फरक कथाबस्तु भएकाले दर्शकले रुचाइदिनेमा खनाल आशावादी छन् ।

प्रेम र जीवनको सौन्दर्यलाई चलचित्रले मजाले उठान गरेकाले प्रेमबाट उर्जा साथै सिर्जना मिल्ने भएकाले दर्शकहरुका लागि नयाँ स्वाद हुनसक्ने उनको भनाइ छ ।