नवलपुर । केरा खेतीको लागि प्रसिद्ध मानिने नवलपुरमा बढ्दो जग्गा प्लटिङका कारण केरा उत्पादन घट्न थालेको छ ।
अनियन्त्रित जग्गा प्लटिङ र बजारीकरणको अभावमा कारण केरा खेतीतर्फ किसानको आकर्षण घटेको हो ।
केही वर्षअघिसम्म नवलपरासीका धेरै किसानहरु केरा खेतीमा संलग्न देखिन्थे तर अहिले त्यो संख्या घट्दो क्रममा रहेको छ ।
केराखेतीका लागि अनुकूल रहेको नवलपुरका विभिन्न स्थानमा जग्गा प्लटिङ बढ्दै जाँदा केरा खेतीमा कटौती हुन थालेको हो ।
कावासोती नगरपालिका वडा नम्बर ५ का ६० वर्षीय समशेरबहादुर तामाङले विगत २५ वर्षदेखि १० बिघा जग्गामा केरा खेती गर्दै आएका थिए तर अहिले उनले २ बिघा क्षेत्रफलमा मात्र केरा खेती गरेका छन् ।
बढ्दो शहरीकरण र कामदारको अभावका कारण केराखेतीतर्फ किसानहरुको आकर्षण घट्दै गएको उनको गुनासो छ ।
त्यस्तै अर्का किसान उमापति चाँपागाईले १२ बिघा क्षेत्रफलमा केरा खेती गर्दै आएका थिए तर जमिन प्लटिङ भएपछि अहिले २ बिघा क्षेत्रफलमा मात्रै खेती गरेका छन् ।
पहिले नवलपुरको करिव ६ सय हेक्टर क्षेत्रफलमा केरा हुने गरेको र उत्पादित केरा जिल्लाबाहिर पनि बिक्री वितरण हुने गरेको थियो ।
तर अहिले केराको उत्पादन जिल्लामा मात्रै सिमित भएको कृषि उपज बजार व्यवस्थापन समितीका अध्यक्ष लेखनाथ बस्यालले बताए ।
जग्गा अभाव बाहेक समयमा विउ, मल नपाउनु, अनुदान नहुनु, सिचाइँको समस्या, कामदारको अभावजस्ता समस्याले पनि किसानले केरा खेती कटौती गर्न थालेका छन् ।









प्रतिक्रिया दिनुहोस्