काठमाडौं, फागुन २८ । नेपाल चेम्बर अफ कमर्सले वैदेशिक लगानी आन्तरिक पुँजीले सम्भव नहुने उच्च प्रविधियुक्त ठूला परियोजना र ‘मेगा इन्डस्ट्री’मामात्र उपयुक्त हुने भन्दै सरकार र सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ ।
संसदमा पेस गरी विचाराधीन रहेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ मा व्यवस्था गरिएको प्रावधानहरुबारे चेम्बरले असन्तुष्टि जनाएको हो ।
चेम्बरले विज्ञप्ति जारी गरी राष्ट्रको समग्र विकासका लागि वैदेशिक लगानी अपरिहार्य भएतापनि आन्तरिक पुँजी परिचालन गरी स्वदेशी सीपको जगेर्ना, प्रयोग र विकाससँग सम्बन्धित कतिपय क्षेत्रहरुमा नेपालीहरु नै सक्षम रहेकाले सबै क्षेत्रमा वैदेशिक लगानी खुला गर्न आवश्यक नदेखिएको जनाएको छ ।
स्वदेशी ज्ञान, सीप र प्रविधिको परिचालन गर्नसकिने लघु, घरेलु उद्योगअन्तर्गत् कृषिका प्राथमिक उत्पादनका क्षेत्रहरु, पशुपालन, कुखुरापालन, मत्स्यपालन, मौरीपालन, दुग्ध प्रशोधन, कार्गो सेवा एवं शैक्षिक परामर्शजस्ता अतिमहत्वपूर्ण व्यवसायहरुमा वैदेशिक लगानी भित्र्याउँदा यसबाट राष्ट्रलाई फाइदाभन्दा बेफाइदा नै हुनसक्ने चेम्बरको तर्क छ ।
ती क्षेत्रहरुमा क्रियाशील स्वदेशी जनशक्तिमा निराशा पैदा हुँदा पुँजी निस्क्रिय हुने सम्भावना हुने र यसले जनशक्ति विस्थापन र पलायन हुनुका साथै स्वदेशी उद्यमशीलतामा ह्रास आउने ठहर गर्दै यी क्षेत्रहरुमा वैदेशिक लगानीलाई प्रवर्द्धन नगर्न चेम्बरले सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ ।









प्रतिक्रिया दिनुहोस्