Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


साढे १५ करोडको कारोबार गर्दै १५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न


0
Shares

काठमाडौं, फागुन २८ । १५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला उत्साहजनकरुपमा सम्पन्न भएको जनाइएको छ ।

बिहीबारदेखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमन्डप परिसरमामा भएको मेलामा १५ करोड ४० लाख रुपैयाँको कारोबार भएको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको हो ।

मेलाको चार लाख ७५ हजारले अवलोकन गरेको जनाइएको छ ।

आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ २०५८ सालबाट नेपाल घरेलु तथा साना उद्योग महासंघले निरन्तर यस्तो प्रदर्शनी गर्दै आएको छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई अभियानकारुपमा सन्चालन गर्ने उद्घोष गरेको वर्तमान सरकारको कार्य मुलुकको समृद्धितर्फ केन्द्रित हुनुपर्ने परिप्रेक्ष्यमा मुलुकभरका झन्डै चार लाख लघु, घरेलु तथा साना  उद्योगहरुलाई प्रतिविम्बित गर्ने प्रदर्शनीको मुख्य उद्देश्य रहेको मेला संयोजक उमेशप्रसाद सिंहले बताए ।

हाम्रोजस्तो देशमा लघु, घरेलु तथा साना उद्योगहरू आर्थिक विकास र समृद्धिका संवाहककारुपमा रहेका भएतापनि प्रविधि प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योगहरु प्रतिस्पर्धी बनेर आकर्षक प्रतिफल दिन नसकिरहेका कारणले युवापुस्ता यस्ता उद्योगप्रति आकर्षित हुन नसकिरहेको उद्योगीहरुले दुखेसो गर्दै आएका छन् ।