Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


सम्पदा बस्ती पुनर्निर्माण गर्न ३० करोड रुपैयाँ बजेट


0
Shares

काठमाडौं, फागुन २८ । भूकम्पबाट क्षतिग्रस्त ६ वटा सम्पदा बस्ती पुनर्निर्माणका लागि कूल ३० करोड रुपैयाँ विनियोजन भएको छ । काठमाडौं उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी ६ वटा सम्पदा बस्ती अध्ययनका लागि कूल एक करोड २० लाख रुपैयाँ निकासा गरिएको छ । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)का अनुसार काठमाडौं उपत्यकाभित्रका खोकना (ललितपुर), बुङ्मती (ललितपुर) र साँखु (काठमाडौँ) का परम्परागत सम्पदा बस्तीका स्मारक, पार्टी, धारा तथा अन्य संरचना पुनःनिर्माणका लागि बजेट विनियोजन गरिएको छ । 

उपत्यका बाहिर नुवाकोटको साततले दरबार क्षेत्र, गोरखाको गोरखा दरबार क्षेत्र तथा दोलखाको दोलखा बजार पनि यस कार्यक्रममा समेटिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइका आयोजना निर्देशक नवराज प्याकुरेलले जानकारी दिए ।

सम्पदा बस्तीका परम्परागत स्मारक, पाटी, धारा तथा अन्य पूर्वाधार पुनःनिर्माणमा बजेट खर्च हुने जनाइएको छ । ‘यसबाट हाम्रा मौलिक सम्पदाको संरक्षण मात्र हुने छैन, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन भई जीविकोपार्जनमा पनि टेवा पुग्नेछ,’ निर्देशक प्याकुरलेले भने ।

निर्देशक प्याकुरेलका अनुसार भूकम्पबाट क्षतिग्रस्त सातवटा विश्व सम्पदा सूचीमा परेका क्षेत्रको संरक्षण तथा विकास कार्यको अध्ययन तथा विकास कार्यका लागि पनि सोही परिमाणको अलग्गै बजेट विनियोजन गरिएको छ । प्रत्येक क्षेत्रको अध्ययनका लागि रु २० लाख र विकास कार्यका लागि यस आर्थिक वर्षभित्र रु पाँच करोड बजेट परिचालन हुनेछ । 

‘यस कार्यक्रमअन्तर्गत पशुपति क्षेत्र, चाँगुनारायण मन्दिर क्षेत्र, स्वयम्भूनाथ क्षेत्र र बौद्ध स्तुपा क्षेत्रको विकास कार्य हुनेछ र उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौँका दरबार क्षेत्रको संरक्षण र सम्वर्द्धन गरिनेछ,’ उनले भने । (रासस)

 

Skip This