३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


अल्जेरियामा आगामी अप्रिल १८ का लागि तय भएको निर्वाचन स्थगित


0
Shares

काठमाडौं । अफ्रिकी मुलुक अल्जेरियाका राष्ट्रपति अब्देलाजिज बुटिफ्लिकाले आगामी अप्रिल १८ का लागि तय भएको निर्वाचन स्थगित गरेका छन् ।

उनले आफू पाँचौं कार्यकालका लागि उम्मेदवारसमेत नबन्ने घोषणा गरेका छन् । अब्देलाजिजको उम्मेदवारीलाई लिएर केही हप्तादेखि विरोध हुँदै आएको थियो ।

उनले विगत २० वर्षदेखि अल्जेरियाको नेतृत्व गर्दै आए पनि सन् २०१३ देखि सार्वजनिक कार्यक्रममा कम मात्रै देखिने गरेका थिए ।

निर्वाचन स्थगित गरिए पनि नयाँ निर्वाचन हुने मिति घोषणा भने गरिएको छैन । राष्ट्रपति अब्देलाजिजले मन्त्रिपरिषद्बाट चाँडै निर्वाचनको नयाँ मिति तय गरिने बताएका छन् ।

राष्ट्रपति अब्देलाजिजले पाँचौं कार्यकालका लागि आफू उम्मेदवार नबन्ने घोषणामाथि कुनै प्रश्न नभएको बताए ।

उनले आफ्नो स्वास्थ्य र उमेरका कारण उम्मेदवारी नदिने निर्णय गरेको स्पष्ट पारे । अब फाउन्डेसनमार्फत नागरिकको सेवामा लाग्ने उनले बताए ।

यसैबीच अल्जेरियाका प्रधानमन्त्री अहमेद ओहामियाले राजीनामा दिएका छन् ।

उनको ठाउँमा निउरोद्दीन बेडुइलाई नयाँ सरकार बनाउने जिम्मेवारी दिइएको छ ।(एजेन्सी)