काठमाडौं, फागुन २७ । प्रतिनिधिसभाअन्तर्गत्को सार्वजनिक लेखा समितिले एअरबस मर्मतको टेन्डर रद्द नगर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ ।
समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले निगमले ‘न्यारोबडी’ ए ३२० जहाजको इन्जिन मर्मतका लागि गरेको पुनः टेन्डर प्रक्रिया रद्द गरी पुरानै टेन्डर प्रक्रियालाई निरन्तरता दिन निर्देशन दिएको हो ।
बैठकले निगमको आर्थिक विनियम २२३ विशेष परिस्थितिमामात्र लागू हुने र नियमित प्रक्रियामा सार्वजनिक खरिद ऐन र यसले निर्धारण गरेको प्रक्रिया नै आकर्षित हुने हुँदा टेन्डरमार्फत् प्रतिस्पर्धाबाट छनोट गर्नु उत्तम उपाय भएकाले उक्त निर्देशन दिएको हो ।
निगमको ए ३२० का लागि आह्वान गरिएको इन्जिन मर्मतसम्बन्धी टेन्डरमा निगमलाई फाइदा हुने र सार्वजनिक खरिद ऐन एवं निगमको आर्थिक विनियमावलीअनुरुप नै रहेकाले टेन्डर रद्द गर्नु औचित्यपूर्ण नभएकाले सुरु टेन्डर प्रक्रियालाई नै अघि बढाउन निगमलाई निर्देशन दिइएको समितिका सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।
यस्तै, ए ३२० का लागि आह्वान गरिएको उपकरण तथा इन्जिनको टेन्डरमा निगमलाई प्राप्त चार कम्पनीहरुको प्रस्ताव मूल्यांकनबाट प्राविधिकरूपमा जर्मनीको लुफ्थान्सा टेक्निक कम्पनीको प्रस्ताव प्रभावग्राही हुनुका साथै निगमले पत्राचारमार्फत् प्रतिक्रिया मागेकामा प्राप्त थप प्रस्ताव मितव्ययीसमेत रहेकाले सो प्रस्तावसमेत मूल्यांकनमा समावेश गरी टेन्डर प्रक्रियालाई निरन्तरता दिन निगमलाई निर्देशन दिने पनि बैठकले निर्णय गरेको छ ।
भविष्यमा यस्ता समस्याहरु पुनरावृत्ति हुन नदिन थप आवश्यक कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने पनि निर्णय भएको सचिव पाण्डेले उल्लेख गरे ।
पुनः ठेक्का प्रक्रियामा झन्डै एक अर्ब ५३ करोड रुपैयाँ घोटाला गर्न खोजेको आशंका गर्दै छलफलमा सहभागी समितिका सदस्यहरुले निगम बचाउन समितिले ठोस पहल गर्नुपर्ने बताएका थिए ।









प्रतिक्रिया दिनुहोस्